


केही दिनदेखी राताम्मे हुँदै आइरहेको नोपली शेयर बजारमा विहिबार भने उत्साह देखिएको छ । साताको कारोबार शुरू भएको दिनदेखी नै नेप्सेमा निराशा देखिएको थियो ।
विहिबार नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा अडिएको छ ।
आज ६ अर्ब ५ करोड बढीको सेयर कारोबार भएको छ । जीवन बीमा तर्फको बढोत्तरी सबैभन्दा बढी छ । निर्जीवन बीमा, ट्रेडिङ समूहमा पनि आकर्षक बढोत्तरी छ ।
सेयर बजार घटेको दिनमा पनि पछिल्ला केही दिनयता सेयर मूल्य बढिरहेको चन्द्रागिरी हिल्सले आज पनि सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य सर्किट ब्रेक लाग्ने गरी बढेको छ । चन्द्रागिरी सहित लिबर्टी इनर्जी कम्पनी र सूर्योदय लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सर्किट लाग्ने गरी बढेको छ । चन्द्रागिरिको सेयर मूल्य ६ सय ५ रुपैयाँ कायम भएको छ ।
तर कारोबार रकममा सबैभन्दा बढी कारोबार हुनेमा पूर्वाधार बैंक (निफ्रा)नै रहेको छ । यसको ५३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता शिखर इन्स्योरेन्सका पनि बढी कारोबार भएको छ । दोस्रो बढी कारोबार भएको शिखरको २४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज नेप्सेका सबै समूहका परिसूचक उकालो लागेपछि सेयर बजारमा हरियाली छाएको छ । अन्य समूह, इन्भेष्टमेन्ट र म्यानुफ्याक्चरिङ एण्ड प्रडक्सन सेक्टरको परिसूचक क्रमशः ५.४४, ५.२६ र ५.०६ प्रतिशतले बढेको छ । जलविद्युत् समूहको परिसूचक ४.७८ प्रतिशतले बढेको छ ।