न्युज कारखाना
काठमाडौं, ६ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ७.०६ अंक बढेर २६५४.२८ विन्दुमा पुगेको छ।
पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज पनि त्यसलाई निरन्तरता दिएको हो। मंगलबार सेन्सेटिभ इण्डेक्स २.७१ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ।
१३ मध्ये सात उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। गत शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज सात अर्ब पाँच करोड तीन लाख ९८ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
आज हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीको ४४ करोड ४० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको करिब साढे ४० करोड रुपैयाँ र घलेम्दी हाइड्रोको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।
मिड सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ७९ रुपैयाँ बढेर ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ८ प्रतिशत, मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।















