जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेकाे पत्र बाहिरिएपछि भट्टराईले ‘भित्र खाओवाद, बाहिर माओवाद’ भनेका छन् ।
कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशाेधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसिसी पारितकाे समय माग गरेकाे खुलेकाे थियाे । नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। MCC जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!,’ भट्टराईले लेखेका छ्न् ।
एमसीसीमा तनावः पाँच दलीय सत्तारुढ गठबन्धन छाडेर जनमोर्चा सडकमा
अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी तिव्र भईरहेको बेला शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको एक घटक सडक आन्दोलनमा होम्मिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय सत्ता गठबन्धनवाट अलग भएर जनमोर्चा भने एमसीसीको बिरोधमा आन्दोलनमा होम्मिएको हो ।
सत्ता गठबन्धन तथा संघीय संसद भन्दा बाहिर रहेका साना बामपन्थी दलहरुसँग मिलेर चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले २५ माघ र २६ माघका लागि देशैभरी बिरोध प्रदर्शन गर्ने निर्णय अनुसार सडक संघर्षमा उत्रिएको हो । जसअनुसार २५ माघमा देशैभरी संयुक्त कोणसभा गर्न लागेका साना बामपन्थी दललाई साथ दिदैँ जनमोर्चाले माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरवाट जुलुससहित संसद भवन अगाडी बिरोध प्रदर्शन र देशैभरी सदरमुकामहरुमा संयुक्त बिरोध प्रदर्शन र सभामा सहभागी हुने निर्णय लिएको छ ।
साना बामपन्थी दलहरुसँग मिलेर सडक संघर्षमा उत्रिएको जनमोर्चाले ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदवाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनता माथीको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका बिरुद्ध शशक्त आन्दोलन सृष्टी गर्न’ अपिलसमेत गरेको छ ।
पाँच दलीय गठबन्धनको एक घटक जनमोर्चाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीसँग मिलेर संयुक्त आन्दोलन गर्न लागेको हो । सो आन्दोलनमा सहभागी सिंह नेतृत्वको नेकपा (मसाल) जनमोर्चाको माऊ पार्टीसमेत हो ।











