नेकपा एमालेका निवर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेद्वार भीम रावलले आफूले एमालेको अहिलेको अवस्थालाई भित्री तरिकाले नियालिरहेको बताएका छन् ।
अध्यक्षमा केपी ओलीसँग हारेपछि भूमिकाविहीन भएका उनले केन्द्रीय सदस्य पद र सल्लाहाकार समितिको सदस्य पद अस्वीकार गरेका थिए । पत्रकार ऋषि धमलासँगको जनता जान्न चाहान्छन् भन्ने कार्यक्रममा टिके प्रथाको विरोधी रहेको बताउँदै उनले भने, ‘केपी ओलीजीले उपाध्यक्ष रहन पनि भन्नु भएको हो, पार्टीको स्थायी कमिटिमा उहाँसँग छलफल भइरहेको अवस्थामा, विभाजनको अवस्थामा उहाँले मतलव गर्नुभएन, तर बन्दसत्रको मन्चमा उहाँले उपाध्यक्षको प्रस्ताव गर्नुभएको थियो, जुन कुरा मैले स्वीकार गर्नुपर्ने कुरा थिएन ।’
आफ्नो अध्यक्षमा दाबेदारीबारे बताउँदै उनले अघि भने, ‘किनभने मैले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा काठमाडौंमै गरेको थिएँ, मैले काठमाडौंमा, स्थायी कमिटिमा पनि राखेको प्रस्ताव छलफल गर्न ओलीजीले चाहानुभएन, त्यसकारण अध्यक्षमा उम्मेद्वारी दिएँ, चितवनमा बन्द सत्रमा भनेको कुरा मलाई स्वीकार्य भएनँ ।’
‘देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनताको निम्ती काम गर्न दृढ छु,’ उनले भने,’ म भूमिका विहीन छैन । म त अहिले एमालेकै सदस्य हुँ, त्यसबाहेक कुनै निर्णय छैन, अहिले एमालेको साधारण सदस्य मात्रै होइन, एमसीसीको बहस गरिरहेको छु, सीमाको बहस गरिरहेको छु ।’
उनले पद ठूलो कुरा नरहेको भन्दै अघि भने, ‘पद मात्र खोज्ने मान्छे म होइन, पद नहुँदैमा म समाप्त भएर जाने अवस्था रहन्न, उनले भने, म पार्टीको सल्लाहाकारमा राखिएको रैछ, त्यसमा पनि रहन्न, यो हास्याँस्पद कुरा हो ।’
राष्ट्रिय सल्लाहाकार समितिको सदस्य राखिएकोमा आपत्ति जनाउँदै उनले भने, ‘म यस्तो कृपाबाट राजनीति गर्ने व्यक्ति होइन म, म विद्यार्थी कालदेखि अहिलेसम्म प्रतिस्पर्धाबाट अघ बढेको हुँ, कार्यकर्ताबाट जनताबाट यहाँसम्म आइपुगेको हु, टिके प्रथाबाट सदस्य बनाउनु हास्ँयास्पद हो ।’
पञ्चायती व्यवस्थामा कठोर संघर्ष गर्दै आएको, ५० बर्षदेखि राजनीतिमा निरन्तर काम गरिरहेको भन्दै आफूले कुनै नेताको अनुहार चिनेर अघि नबढेको बताए । देश र जनताको निम्ती क्रियाशिल रहन नेताहरुले हेर्ने दृष्टिकोणले फरक नपर्ने बताए ।
मसँग पद नरहेपनि हजारौं कार्यकर्ता र जनताको साथ रहेको भन्दै आफ्नो अभियानमा दृढ रहने बताए । अध्यक्ष केपी ओलीले विधान महाधिवेशनले पारित गरेको दुई महिना पनि नपुग्दै आफूलाई असजिलो हुने भएसँगै विधान फेरेको भन्दै यो लोकतान्त्रिक संस्कृति नरहेको समेत बताए । ओलीले महाधिवेशनमा गुटबन्धी गरेको, आफू बसेको होटल अघि नाराबाजी गर्न लगाएको भन्दै ओलीको प्रवृतिको विरोध गरे ।
उनले माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र कुनैमा पनि प्रवेश नगर्ने भन्दै अध्यक्ष ओली कसरी अघि बढ्छन्, एमसीसीमा ओलीको धारणा, नागरिकता, सीमा लगायतका विषयमा ओलीको भूमिका कसरी रहन्छ भन्ने कुरा विचार गरिरहेको बताए ।
उनले अहिले केपी ओलीकै जिल्लामा १४ बर्ष जेल बसेका नेताहरुलाई केन्द्रीय सदस्य नबनाइएको तर पार्टीमा केही योगदान नै नभएका दुर्गा प्रसाईँजस्तालाई केन्द्रीय सदस्य दिइएकोमा आपत्ति जनाउँदै यस्तै प्रवृतिको कारण विगतमा एमालेमा अन्तरविरोध आएको बताए ।
उनले भने, ‘म अहिले नेकपा एमालेको सदस्य हुँ, अन्य पार्टीमा जाने सोचेको छैन, तर राजनीतिमा ज्योतिष शास्त हुँदैन, देश र जनताप्रति कटिबद्ध भएर राजनीतिमा लागेको मानिस हुँ, पार्टीले राष्ट्रिय स्वाभिमानमा गम्भीर धक्का लाग्ने काम गर्न थालेको अवस्थामा जुनसुकै पनि कदम चाल्न सकिन्छ ।’
उनले अब पार्टीका जिल्ला अधिवेशनमा पनि महाधिवेशनमा जस्तै एक व्यक्तिको हालीमुहाली हुने अवस्था आउनेमा अर्कै सोँच्नुपर्ने अवस्था आउनसक्ने बताए । भविष्यमा राष्ट्रलाई खतरा आउने अवस्थामा नेपालका दलहरुले बोलेनन् भने आफू एक्लै भएपनि मैदानमा उत्रने बताए । उनले भविष्यमा यस्तो अवस्था आएमा एमाले त्यागेर अरु नयाँ दल खोल्नुपर्ने अवस्था समेत हुनसक्ने बताए ।
उनले यथास्थितीमा एमसीसी पास गर्न खोजिए देश दुर्घटनामा पर्ने बताए । उनले एमालेले संसद् अवरुद्ध नभएर सांसदहरुलाई अवरोध गरेको बताए । उनले एमालेले गरेको संसद अवरोध एमालेले खुलाउनु पर्ने बताए । सरकारका काम कारवाही पनि रोकिने गरी संसद अवरुद्ध हुनुपर्ने भन्दै उनले तर अहिले सरकारका कामहरु संसदमा भइरहेको तर सांसदहरुलाई मात्र बोल्न नदिइएको भन्दै आपत्ति जनाए । एमालेले यसप्रकारको अवरोध गर्न ठीक नभएको बताए ।
यो समाचार साभार गरिएको हो।