×
Lagani
Lagani Shiksha gif
त्रिशूली–३ ए मा फसेकाहरूको आवाज सुनियो, उद्धार टोलीले तीव्र पार्‍यो खोजी



रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा शुक्रबार आशालाग्दो संकेत देखिएको छ।

सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएपछि उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिएको छ। उद्धारमा संलग्न टोलीबाट प्राप्त जानकारी उद्धृत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी दिएका छन्। उनका अनुसार उद्धार टोलीले भित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो।

Lagani Shiksha gif
sharehubapk त्रिशूली–३ ए मा फसेकाहरूको आवाज सुनियो, उद्धार टोलीले तीव्र पार्‍यो खोजी

यसले सुरुङभित्र केही व्यक्ति जीवित तथा सचेत अवस्थामा रहेको हुनसक्ने आशा बढाएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी फसेकाहरूको अवस्थाबारे थप जानकारी लिन तथा उनीहरूसम्म पुग्न प्रयास गरिरहेको छ।

यसअघि बाढीपछि सुरुङको प्रवेश क्षेत्रमा ठूलो परिमाणमा लेदो, ढुंगा तथा अन्य भग्नावशेष थुप्रिएको थियो। उद्धारका लागि करिब २० हजार घनमिटर माटो, ढुंगा, कंक्रिट तथा अन्य अवरोध हटाइएको थियो। दुईवटा एक्साभेटर प्रयोग गरी ठूलो परिमाणमा सामग्री हटाउनुका साथै ठूला ढुंगासमेत विस्फोट गराएर बाटो खोलिएको थियो।

बिहीबार उद्धार टोलीले सुरुङको प्रवेशद्वारबाट करिब १५ फिटसम्म थुप्रिएको माटो तथा ढुंगा हटाएर सुरुङभित्र प्रवेश गर्न सफल भएको थियो। तर भित्रतर्फ अझै थप भग्नावशेष रहेकाले उद्धार टोलीले सावधानीपूर्वक बाटो खोल्दै अगाडि बढिरहेको थियो।

यसैबीच इन्जिनियर तथा सांसद श्रीराम न्यौपानेले उद्धारका क्रममा प्राप्त प्राविधिक अनुभव आगामी उद्धार तथा विपद्का घटनामा समेत प्रयोग गर्ने बताएका छन्। उनले पछिल्ला दिनमा इन्जिनियर, सुरक्षाकर्मी तथा स्थानीयको सहकार्यमा ठूलो परिमाणको लेदो र ढुंगा हटाएर सुरुङसम्म पहुँच बनाइएको उल्लेख गरेका छन्।

अर्कोतर्फ सांसद न्यौपानेले नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी, नेपाल विद्युत् प्राधिकरण तथा उद्धारमा सहयोग गर्ने नेपाल र विदेशका सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

अहिले मुख्य प्राथमिकता सुरुङभित्रबाट आवाज सुनिएका व्यक्तिहरूसम्म सुरक्षित रूपमा पुगेर उनीहरूको उद्धार गर्नु रहेको छ। आवाज सुनिएको घटनाले लामो समयदेखि जारी उद्धार प्रयासमा नयाँ आशा थपेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस