×
Lagani
Lagani Shiksha gif
फोहोर व्यवस्थापनमा चुक्यो भरतपुर, फोहोर फाल्न सबैतिर अवरोध



फोहोर व्यवस्थापनमा भरतपुर महानगरपालिका असफल भएको छ । जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा पनि दीर्घकालिन रुपमा फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरवासी आजित भएका छन् ।

महानगरले भरतपुर–३ नगरवन र भरतपुर–२४ धुव्र ल्याण्डफिलमा फोहोर डम्पिङ गर्दै आएकामा स्थानीयले पटकपटक अवरोध सिर्जना गरेका छन् । बस्तीछेउमा गरिएको डम्पिङले दुर्गन्ध फैलाएको र पानीको स्रोतसमेत बिग्रिएको भन्दै स्थानीयले अवरोध गर्ने गरेका छन् ।

दुई ठाउँमा पटकपटक अवरोध हुनेगरेपछि महानगरको बोर्ड बैठकले केही समयसम्म भरतपुर-१ रामनगरमा फोहोर डम्पिङ गर्ने प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावविरुद्ध स्थानीय आक्रमक बनेपछि प्रस्ताव पास हुन सकेन ।

अहिले भरतपुर महानगरमा चार दिनदेखि फोहोर उठ्न सकेको छैन । स्मार्ट सिटी भनिने गरिएको भरतपुरमा फोहोर व्यवस्थापन मुख्य समस्या बनेको छ । यहाँ स्मार्ट सडकदेखि स्मार्ट शौचालयसम्म निर्माण हुँदै छन् । स्मार्ट योजनाहरू समयमै नसकिएर अलपत्र परेका छन् ।

भरतपुर क्षेत्रमा पटकपटक फोहोर थुप्रिने गर्छ । स्मार्ट सिटी भरतपुरमा मास्कले समेत नछेक्ने दुर्गन्धबाट स्थानीय पीडित हुनुपरेको छ ।

चितवनको सदरमुकाम हो भरतपुर । भरतपुरको पनि केन्द्रमा पर्छ चौविसकोठी । पश्चिम चितवनबाट आउने महानगरवासीलाई चौविसकोठी प्रवेश गर्ने बाटोमा फोहोरको थुप्रोले स्वागत गरेको जस्तो अनुभूति हुन्छ । त्रिचोकदेखि चौविसकोठीसम्मको बाटोको छेउमा स्वागत गर्न राखेझैँ फोहोरका थुप्रो देख्न सकिन्छ ।

भरतपुर महानगरपालिका-७ कटहर चोकका रेशम गुरुङले महानगरले जनताको स्वागतमा घडाको साटो फोहोरको थुप्रो राखेको बताए । ‘ठूलाबडा मान्छेको स्वागतमा बाटोका छेउमा घडा राख्ने, कलश राख्ने गरेको त देखिएको हो । महानगरले त जनताको स्वागतमा फोहोरेको थुप्रो पो राखेको छ’, उनले भने ।

भरतपुर विमानस्थलको आडैमा फोहोर थुप्रिएका मात्रै छैनन्, खुला शौचालयसमेत बनेको छ । त्यस्तै, नारायणगढ बजारमा थुप्रिएको फोहोरको डंगुरले बजार कुरुप बनेको छ । फोहोरको थुप्रोबाट आउने दुर्गन्धले वान्ता नै हुने गरेको स्थानीय रमेश पराजुली बताउँछन् ।

‘पसलमा तरकारी लिन जान सक्ने अवस्था नै छैन । फोहोर देखेर एकचोटी त मलाई वान्ता नै भएको छ’, उनी भन्छन्, ‘विकास गरेँ, बाटो बनाएँ भन्छन् । फोहोरको अवस्था भने जहिल्यै यस्तै देख्छु । विकासमा फोहोर उठाउने काम पर्दैन र भन्या ?’

समयमा फोहोर उठ्न नसक्दा स्थानीयलाई मात्र नभएर व्यवसायी, सेवाग्राही र यात्रीहरुलाई समेत समस्या भएको उनी बताउँछन् ।

fohor 2 फोहोर व्यवस्थापनमा चुक्यो भरतपुर, फोहोर फाल्न सबैतिर अवरोध

माग सम्बोधन गरेर फोहोर उठाउने तयारी

भरतपुर–२४ धुव्रका स्थानीयको माग सम्बोधन गरेर आजदेखि फोहोर उठाउने योजना रहेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । भरतपुर–२४ मा धुव्र ल्याण्डफिल साइट छ । त्यहाँ फोहोर फाल्दा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले पटक–पटक अवरोध गर्दै आएका छन् ।

‘बर्खामा धुव्र ल्याण्डफिलमा र हिउँदमा नगरवनमा फोहोर फालिने गरिएको थियो । अहिले नगरवनका स्थानीयले फोहोर फाल्न दिएका छैनन् । धुव्रमा पनि दिएनन्’, उनले भने, ‘त्यो हुनाले आज कार्यपालिका बैठक बस्ने र स्थानीयसँग वार्ता गर्ने योजना छ । उहाँहरुसँग बसेर कुरा गरेपछि दिनुहुन्छ होला भन्ने छ ।’

स्थानीयको मागलाई बुधबार सम्बोधन गरेर आजबाट फोहोर उठाइने उनको दाबी छ । बाटो निर्माण, ग्राभेलको भुक्तानी, दुर्गन्ध व्यवस्थापन र तारजाली लगाइदिनुपर्ने लगायतका विषय राखेर स्थानीयले अवरोध गरेको उनले बताए । धुव्र ल्याण्डफिल र नगरवन बाहेक महानगरले फोहोर फाल्ने स्थानको विकल्प भेट्न सकेको छैन ।

महानगरले विकासका आयोजनाहरू पारिदिने आश्वासन दिएर स्थानीयलाई केहीदिनसम्म थमथमाउने गर्छ । स्थानीयहरुले फेरि नयाँनयाँ माग राखेर अवरोध सिर्जना गर्छन् ।

भरतपुर-३ नगरवनमा स्थानीयले फोहोर फाल्न नदिएपछि महानगरले फोहोर भरतपुर–२४ मा लगेको हो । यस पटक फेरि स्थानीयले अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो ।

fohor 3 फोहोर व्यवस्थापनमा चुक्यो भरतपुर, फोहोर फाल्न सबैतिर अवरोध

‘स्यानिटरी ल्याण्डफिलको एमओयू डिसेम्बरभित्रै’

दीर्घकालिन रूपमा फोहोर व्यवस्थापनका लागि सुडोनोन ल्याण्डफिल्ड साइट म्यानेजमेन्ट नामक कोरियन संस्थाको साझेदारीमा भरतपुर-२ आँपटारीमा स्यानिटरी ल्याण्डफिल साइट बनाउने महानगरको योजना छ । त्यहाँ महानगरको १५ बिघा जग्गा छ । तर, यो योजना योजनामा मात्र सीमित बनेको छ ।

कोरियन संस्थासँग भदौ २०७५ मा सम्झौता भएको थियो । ल्याण्डफिल साइट निर्माणका लागि डिसेम्बर भित्र कोरियन संस्थासँग एमओयू हुन लागेको उनले बताए । उक्त योजना अनुसारको फिल्डमा काम सुरु हुन पनि कम्तिमा डेढ वर्ष लाग्ने देखिन्छ ।

कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्याएर कुहिने फोहोरबाट मल बनाउने अभियान पनि सञ्चालन गरिएको उनले बताए । महानगरबाट दैनिक ६५ देखि ७० टन फोहोर निस्कने गर्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस