सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओको बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सार्वजनिक गरेको विवरणअनुसार कुल ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयरका लागि परेको आवेदनको अन्तिम नतिजा सार्वजनिक गरिएको हो।
आईपीओमा अपेक्षाभन्दा निकै ठूलो आकर्षण देखिएको थियो। प्राप्त तथ्यांकअनुसार २८ लाख ९४ हजार २३२ जनाले ३ करोड १० लाख ३३ हजार १८० कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए। आवेदन परीक्षण तथा प्रमाणीकरणपछि २८ लाख ५० हजार २५ जना आवेदकको ३ करोड ५२ लाख ७ हजार ५४० कित्ता बराबरको आवेदन मात्र योग्य ठहरिएको थियो। विभिन्न प्राविधिक तथा प्रक्रियागत कारणले ४४ हजार २०७ जनाको आवेदन रद्द भएको देखिएको छ।
योग्य आवेदकहरूले माग गरेको सेयर संख्या निष्काशित सेयरको तुलनामा झण्डै ४४ गुणाले बढी भएपछि कम्पनीको आईपीओ गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो। बाँडफाँडपछि कुल ७० हजार ५५० जना लगानीकर्ताले न्यूनतम १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। निष्काशन गरिएको सम्पूर्ण ७ लाख ५ हजार ५ सय कित्ता सेयर यही समूहलाई वितरण गरिएको छ। यसपटक सेयर पाउने सम्भावना करिब २.५ प्रतिशतको हाराहारीमा मात्रै रहेको देखिएको छ, जसका कारण अधिकांश आवेदकको हात खाली भएको छ।
बाँडफाँड प्रक्रियामा प्रयोग गरिएको गोलाप्रथाका क्रममा बल नम्बर ७ परेको बिक्री प्रबन्धकले जनाएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा जेठ २८ गतेदेखि असार २ गतेसम्म आईपीओ निष्काशन गरेको थियो।
आईपीओको नतिजा हेर्न चाहने लगानीकर्ताले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) को आईपीओ रिजल्ट प्रणालीमा प्रवेश गरी कम्पनीको नाम छनोट गरेर आफ्नो १६ अङ्कको बीओआईडी नम्बर प्रविष्ट गर्न सक्नेछन्। त्यसपछि आफूलाई सेयर परेको वा नपरेको विवरण हेर्न सकिने व्यवस्था गरिएको छ।
नतिजा हेर्न:
IPO Result पोर्टल खोल्ने
‘Select Company’ मा गई Sarvottam Paints Industries Limited छनोट गर्ने
आफ्नो १६ अङ्कको BOID नम्बर प्रविष्ट गर्ने
‘View Result’ मा क्लिक गर्ने















