×
म पदको लोभी होइन , ओलीले शपथ लिन भन्दा अस्वीकार गरेँ : भीम रावल



नेकपा एमालेका नेता भीम रावलले आफूले टीका लगाएर पद लिन चाहना नभएको बताएका छन् ।

केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरी पराजित भएका उनले पार्टीमा टिके प्रथा हावी हुन थालेको भन्दै आफू त्यसको विरोधमा रहेको बताए ।आफूलाई अध्यक्ष केपी शर्मा ओलीले सदस्यको शपथ लिन भनेको तर आफूले नमानेको उनले बताए ।

बुधबार साँफेबगरमा आयोजित एक कार्यक्रममा उनले त्यसअघि उपाध्यक्ष बन्न भनेको पनि बताए।आफ्नो लागि पद ठूलो विषय नभएको भन्दै उनले भने, ‘चितवनको मञ्चमा बसिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले मलाई भन्नुभएको थियो– तपाईं उपाध्यक्ष भइदिनुस् कृपया।‘

रावलले ओलीलाई ‘तपाईं र म स्वच्छ प्रतिस्पर्धा गरौं’ भनेको बताए। ‘म अध्यक्षमा लड्छु, टीका लगाएर उपाध्यक्ष हुने मान्छे होइन’, ओलीलाई दिएको जवाफ उनले सुनाएका थिए।सदस्यको शपथ ग्रहण कार्यक्रममा पनि ओलीले आफूलाई सदस्यमा शपथ लिन भनेको बताएका छन्। ‘केन्द्रीय सदस्यको शपथ हुँदै थियो। मलाई फेरि केपी शर्मा ओलीज्यूले भन्नुभयो – उपाध्यक्ष त तपाईंले मान्नुभएन। सदस्य मानिदिनुस् न। शपथ त लिनुस् न‘, उनले भने।

त्यतिबेला आफूले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगरेको र अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको व्यक्ति सदस्य नहुने जवाफ दिएको रावलको भनाइ छ।रावल अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए। ओलीले १८३७ मत ल्याएर विजयी हुँदा रावलले भने २२३ मत मात्रै पाएका थिए।

उनले टीका लगाएर नेतृत्व लिने रहर नभएको बताउँदै अध्यक्षमा पनि प्रतिस्पर्धा गरेर हारेकाले स्वाभिमान उच्च भएको तर्क गरे। रावलले आफूले जस्तै अरुले टीका लगाएर दिने पद चाहिँदैन भन्न नसकेको पनि बताए। त्यहीकारण अरु नेताहरुले टीका लगाएर पद लिएको भन्दै उनले कटाक्ष गरे।

‘भीम रावल अध्यक्ष पदमा पराजित भएर कहीँ जाला भन्ने लागेको होला। तर म जहाँ छु त्यहीँ छु’, उनले भने, ‘अब केही समयपछि हाम्रो देशमा स्थानीय र आमनिर्वाचन हुनेछ। अब हामी त्यता लाग्नुपर्नेछ। हामी जहाँ छौँ त्यहाँ अटल छौँ।’

उनले प्रतिस्पर्धा गरेर यो महाधिवेशनमा जबजको रक्षा गर्न सफल भएको पनि बताए। ‘यो महाधिवेशनमा जबजको रक्षा गर्न सफल भएँ। पार्टीमा यदि सबै नेताहरु हार्दिकतापूर्वक अर्को कुनै पदमा उठ्न चाहँदैनन् सर्वसम्मत हुन्छ। त्यसलाई म मान्छु’, उनले भने, ‘तर घेरामा पारेर महिलाहरुको हात समातेर तपाईंहरु लड्न पाउनुहुन्न भनिन्छ भने त्यो निरंकुशता हो।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस