×
आईपियो निस्कासन गर्न ८९ वटा कम्पनी बोर्डको ‘ग्रिन सिग्नल’ को प्रतीक्षामा ।



नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ (साधारण सेयर) निष्काशनका लागि अनुमति माग्ने कम्पनीहरूको लर्को लम्बिएको छ।

पछिल्लो तथ्यांकअनुसार हाल ८९ वटा कम्पनी पाइपलाइनमा रहेर बोर्डको ‘ग्रिन सिग्नल’ को प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कम्पनीहरूलाई क्षेत्रगत आधारमा हेर्दा जलविद्युत् क्षेत्रको दबदबा देखिएको छ। हाल अनुमति पर्खिरहेका कुल ८९ कम्पनीमध्ये ३१ वटा जलविद्युत् कम्पनी रहेका छन्। त्यसैगरी, माइक्रोफाइनान्स तथा प्रोसेसिङ समूहका २४, होटल तथा पर्यटनका १४, अन्य समूहका १३, इन्भेस्टमेन्ट समूहका ४ र माइक्रो इन्स्योरेन्सका ३ वटा कम्पनी आईपीओ निष्काशनको तयारीमा छन्।

बोर्डमा पेस गरिएको विवरणअनुसार पाइपलाइनमा रहेका ३१ जलविद्युत् कम्पनीले कुल १४ करोड ७३ लाख ९१ हजार कित्ता सेयर निष्काशनका लागि आवेदन दिएका छन्। यसको कुल बजार मूल्य करिब १५ अर्ब १४ करोड रुपैयाँ हुन आउँछ।

जलविद्युत् क्षेत्रबाटै ठूला आकारका आईपीओ आउने क्रम सुरु भएको छ। यीमध्ये सिउरी न्यादी पावर लिमिटेडले सबैभन्दा ठूलो आकारको प्रस्ताव पेस गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३ लाख ६० हजार कित्ताभन्दा बढी सेयर निष्काशन गर्न अनुमति मागेको छ, जसको कुल मूल्य करिब ३ अर्ब रुपैयाँभन्दा बढी हुनेछ।

त्यस्तै, युनाइटेड मेवा खोला हाइड्रोपावरले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता र मेवा डेभलपर्स लिमिटेडले १ अर्ब १२ करोड रुपैयाँ बराबरको १ करोड १२ लाख कित्ता सेयर निष्काशनका लागि आवेदन दिएका छन्।

यसका साथै, भिजन इनर्जी एण्ड पावरले ८३ लाख कित्ता तथा इलेक्ट्रो पावर कम्पनीले करिब ८१ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्ने प्रस्तावसहित धितोपत्र बोर्डमा अनुमति मागेका छन्। नियामकबाट स्वीकृतिको प्रक्रिया पूरा भएसँगै यी कम्पनीहरूले बजारमा सेयर निष्काशन गर्ने बाटो खुल्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस