एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री नभएपनि यो सरकारलाई आफैँले चलाइरहेको बताएका छन् ।
आफु प्रधानमन्त्री नभएपनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको भन्दै आफुले चाहे कठपुतली जस्तै नचाइरहने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर ओलीले सरकारलाई आफुले कठपुतलीजस्तै नचाइदिने र नचाइरहेकेो बताएका हुन् ।
उनले प्रधानमन्त्रीले चाहेर पनि राम्रो काम गर्न नसक्ने बताए । उनले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गरे । उनले हजारौं पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउनेसमेत उद्घोष गरे ।
महाधिवेशन उद्घाटन समारोहमा उनले महाधिवेशनलगत्तै पूर्व लडाकूहरू सामुहिक रुपमा प्रवेश गर्न लागेको बताए । उनले माओवादी पार्टीका लागि जीवन नै होम्ने तर लक्ष्य प्राप्तिपछि आफ्ना नातागोतालाई मेयर, मन्त्री बनाउने पार्टीमा अब उनीहरू बसिनराख्ने बताए ।
ओलीले आगामी निर्वाचनपछि देशमा नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन् । आफ्नो पार्टी सरकारमा पुगेपछि देश विकासका बाँकी काम पनि पूरा गर्ने बताएका छन् । १०औँ महाधिवेशनको उद्घाटन गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पनि बताए । यो क्रम निरन्तर प्रतिनिधि सभा सदस्य चयनसम्म जारी रहने बताए ।