


अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओमा आवेदनको ओहिरो परेको छ।
कम्पनिको आईपियो खरीदका लागि अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जना आवेदकबाट १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताका लागि आवेदन परेको छ ,जुन मागभन्दा २५ दशमलव ८८ गुणा बढी हो । कम्पनीको आईपीओ १० कित्ताका दरले ५३ हजार ९५० जनाले मात्र हात पार्नेछन् । यस आधारमा १२ लाख २८ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।
हाइड्रोपारले १० असारदेखि सर्वसाधारणका लागि ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । त्यस्तै, ५ प्रतिशत अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यबस्था थियो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बाहल रहनेछ ।
कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ५४ रहेको छ। त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी माइनस रू. १४ दशमलव ६३ रहेको छ ।