×
Lagani
Lagani Shiksha gif
आर्थिक हिनामिना आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा



सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले आर्थिक हिनामिना गरेको आरोपमा चितवनस्थित कृषि बैंकको गुञ्जनगर शाखा प्रमुखलाई निलम्बन गरेको छ । शाखा प्रमुख शोभाकुमारी दत्तलाई १५ दिनअघि निलम्बन गरी बैंकले छानविन गरिरहेको हो ।

ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिने गरेको आरोप शाखा प्रमुख दत्तलाई लागेको छ । छानविनका लागि केन्द्रबाट दुई जना र प्रदेशबाट एक गरी तीन जना कर्मचारी खटिएको बैंकले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk आर्थिक हिनामिना आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा

शाखा प्रमुख दत्त कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तकी श्रीमती हुन् । छानविन समितिले गुञ्जनगर शाखामा आएर आवश्यक कागजपत्र लिएर गइसकेको छ । शाखा प्रमुखको जिम्मेवारी बैंकको प्रदेश कार्यालयका कुमार उप्रेतीलाई दिइएको छ ।

लेखापरीक्षण गर्दा कैफियत भेटिएपछि शाखा प्रमुखलाई निलम्बन गरि छानविन गर्ने काम भइरहेको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए । ‘लेखापरीक्षण हुँदा केही कैफियत देखियो । धितो र परियोजनामा केहि कैफियत देखियो । त्यसपछि छानविन हुन जरुरी छ भन्ने भएपछि त्यसको काम भइरहेको छ’, उनले भने ।

जिल्ला निरीक्षकलाई पठाएर छानविन थालिएको उनले बताए । छानविनमा प्रभाव पर्न सक्ने भन्दै उनले छानविन समितिका सदस्यहरूको नाम खुलाउन भने चाहेनन् । ‘छानविनकै क्रममा रहेकाले अरू भन्न मिल्ने अवस्था रहेन । जतिसक्दो चाँडो रिपोर्ट दिने भन्ने छ । गम्भीर प्रकृतिको भए धेरै दिन लाग्न सक्छ । रिपोर्ट आएपछि मात्र वास्तविकता बाहिर आउँछ’, उनले भने ।

कृषि विकास बैंकको पैसा ग्राहकको अन्य बैंकमा भएको ऋण चुक्ताका लागि ग्राहकलाई बिना ब्याज सापटी उपलब्ध गराएको पाइएपछि शाखा प्रमुख दत्तलाई निलम्बन गरिएको स्रोतले जानकारी दियो । कृषि बैंकमा सस्तो ब्याजदरमा ऋण पाइने भएकाले अर्काे बैंकको ऋण चुक्ताका लागि त्यसरी सापटी दिएको देखिन्छ ।

‘बैंकको पैसा कर्मचारीको खातामार्फत ग्राहकको खातामा गएको देखियो । ग्राहक र कर्मचारीको खातामा त्यसरी लेनदेन भएको हुनुहुँदैन’, स्रोतले भन्यो, ‘ग्राहकले अन्य बैंकमा भएको ऋण चुक्ताका लागि त्यसरी बिनाव्याज सापटी लिएको देखिन्छ । कानुनले त्यसो गर्न पाइँदैन ।’ शाखा प्रमुख दत्तले ग्राहकलाई सहुलियतको ऋण उपलब्ध गराएबापत ग्राहकसँग कमिसन लिएको र उनको खातामा अस्वाभाविक रकम पनि देखिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस