मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आज देखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री सुरु गरेको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लि.ले प्रति शेयर अंकित मूल्य रु.१००/दरका १,५०,००,००० कित्ता शेयर मध्ये १८,००,००० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) र बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) तथा ४२,००,००० कित्ता शेयर उक्त प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाहरुको लागिै को यही मिति २०७८ बैशाख २१ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको छ।
उक्त शेयर निष्कासन बन्द छिटोमा २०७८ जेठ ०४ गते (बैकिङ्ग समय पश्चात्) र ढिलोमा २०७८ जेठ २० गते (बैकिङ्ग समय पश्चात्) हुने छ। शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । यस अघि कम्पनीले न्यूनतम १० कित्ता शेयर आवेदन दिन पर्ने भनेर सुचना प्रकासन गरे पनि पछी सच्चाएको छ। 
लगानीकर्ताहरुले यस आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एसिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।
कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था (चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर) का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।
पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि २०७५ साल कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म र दोस्रो चरणमा बाँकी संस्थाका कर्मचारीका लागि २०७५ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो ।
उक्त अवधिमा विक्री गरेको आईपीओ कम्पनीले २०७५ साल पुस ४ गते बाँडफाँट गरेको हो । जारी पूँजी रू. ६ अर्ब रहेको यस कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो ।
अब कम्पनीले आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्नेछ । कर्मचारीमा आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।













