काठमाडौं उपत्यकामा भाडामा बसेर अध्ययन गरिरहेका लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुलो उपलब्ध गराइने भएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले उपत्यकाबाहिरबाट काठमाडौं आएर भाडामा बस्दै अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै विद्युतीय चुलो उपलब्ध गराउन आवेदन माग गरेको हो ।
केन्द्रका अनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको उपलब्धतामा देखिएको समस्या तथा स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको हो । यसअन्तर्गत ३०० जना विद्यार्थीलाई विद्युतीय चुलो उपलब्ध गराइनेछ ।
विद्युतीय चुलोका लागि आवेदन दिन विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित शिक्षण संस्थाको सिफारिस तथा विद्यार्थी परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । यस्तै, लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्ग खुलेको परिचयपत्रको प्रतिलिपि वा सम्बन्धित निकायको सिफारिस पनि आवश्यक पर्नेछ ।
केन्द्रले सम्बन्धित निकाय वा स्थानीय तहबाट विपन्नता खुलेको सिफारिस पेस गरेका तथा सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीलाई प्राथमिकता दिने जनाएको छ । विपन्नता प्रमाणित गर्ने सिफारिस सम्बन्धित स्थानीय तहबाट लिनुपर्नेछ ।
विद्यार्थीले केन्द्रले उपलब्ध गराएको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आवेदनका लागि आवश्यक विवरण भरेर तोकिएका कागजात अनलाइनबाटै पेस गर्नुपर्नेछ । आवेदन २०८३ असोज ८ गते दिउँसो २ बजेसम्म दिन सकिनेछ ।
अनलाइन आवेदनका लागि https://mis.aepc.gov.np:1415/ मा जान सकिनेछ । शिक्षण संस्थाको सिफारिसको ढाँचा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।
यस केन्द्रबाट यसअघि नै विद्युतीय चुलो प्राप्त गरिसकेका विद्यार्थीको आवेदन भने खारेज हुने सूचनामा उल्लेख छ । थप जानकारीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जैविक ऊर्जा शाखा, ताहाचल काठमाडौंमा सम्पर्क गर्न सकिनेछ । सम्पर्क नम्बर ०१-४५९७०९३/४५९७०९४ र इमेल info@aepc.gov.np रहेको छ।
















