नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारलाई थप सुरक्षित, प्रभावकारी, व्यवस्थित र विश्वसनीय बनाउन नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई विभिन्न महत्वपूर्ण सुधारका काम अघि बढाउन निर्देशन दिएको छ। धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले कारोबार व्यवस्थापन प्रणाली, कारोबार प्रणालीको सुरक्षा, कृत्रिम बौद्धिकताको प्रयोग, मोबाइलबाट दोस्रो बजार कारोबार, बजार सूचकाङ्क, सर्किट ब्रेकर तथा सूचीकृत कम्पनीसम्बन्धी व्यवस्थामा सुधार गर्न निर्देशन दिएको हो।
बोर्डले लगानीकर्ताले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणालीको सूचना प्रविधि अडिट तथा सुरक्षा परीक्षण गर्न, कारोबार प्रणालीमा देखिएका समस्या पहिचान गरी नयाँ उपकरणबाट समेत सहज कारोबार हुने गरी प्रणालीलाई थप आधुनिक र सक्षम बनाउन निर्देशन दिएको छ। साथै, कारोबार व्यवस्थापन प्रणालीमा कृत्रिम बौद्धिकतामा आधारित प्रविधिको प्रयोग गरी कारोबार गर्न सकिने वा नसकिने विषयमा अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सेको पूर्वाधार तथा आवश्यक कानुनी व्यवस्थासहित अध्ययन गरी प्रतिवेदन पेश गर्न भनिएको छ। अर्को व्यवस्था नभएसम्म टीएमएसमा कृत्रिम बौद्धिकतामा आधारित कुनै प्रविधिको प्रयोगबाट कारोबार आदेश प्रविष्ट भएको पहिचान गरी त्यस्तो आदेश रोक्ने व्यवस्था गर्न र यसबारे लगानीकर्तालाई समेत जानकारी गराउन निर्देशन दिइएको छ।
लगानीकर्ताका लागि अर्को महत्वपूर्ण विषय मोबाइलबाट दोस्रो बजार कारोबार हो। बोर्डले धितोपत्रको दोस्रो बजार कारोबार मोबाइल एपमार्फत गर्न सकिने आवश्यक व्यवस्था मिलाउन नेप्सेलाई निर्देशन दिएको छ। त्यस्तै, नयाँ लगानीकर्ता तथा विद्यार्थीलाई शेयर बजारको प्राविधिक अभ्यास गराउन सञ्चालनमा ल्याइएको आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्मलाई निरन्तर प्रयोग गर्न सकिने गरी सञ्चालनमा कुनै रोकावट नआउने व्यवस्था गर्न भनिएको छ। टीएमएस खाता खोल्दा केन्द्रीय ग्राहक पहिचान प्रणालीमार्फत ग्राहक पहिचान गर्न सकिने व्यवस्था मिलाउन तथा अफ्टर मार्केट अर्डरलाई प्रभावकारी रूपमा लागू गर्न पनि निर्देशन दिइएको छ।
बजार सूचकाङ्कतर्फ पनि महत्वपूर्ण सुधार अघि बढाइने भएको छ। हालको नेप्से सूचकाङ्कलाई सबै इक्विटी सूचकाङ्कका रूपमा कायम राख्दै स्वतन्त्र कारोबारयोग्य शेयरका आधारमा नयाँ सूचकाङ्क विकास गरी त्यसलाई मानक सूचकाङ्कका रूपमा प्रयोग गर्ने व्यवस्था गर्न बोर्डले भनेको छ। सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्ने, पूँजी, प्रतिफल तथा तरलतालगायतका आधारमा लगानीयोग्य तथा अनुमानयोग्य विभिन्न सूचकाङ्क विकास गर्ने र नेप्से ३० तथा नेप्से हाई क्यापजस्ता सूचकाङ्कलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन सम्बन्धित संस्थासँग सहकार्य गर्ने निर्देशन दिइएको छ। हाल गणना हुँदै आएको सेन्सेटिभ सूचकाङ्कलाई समेत कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाएर पुनरावलोकन गर्न भनिएको छ।
यसका साथै सूचीकृत कम्पनीको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनका आधारमा वर्गीकरण प्रक्रियालाई वस्तुनिष्ठ बनाउने, सूचीकरणपछि पहिलो कारोबार मूल्य निर्धारणसम्बन्धी व्यवस्था वैज्ञानिक बनाउने, लामो समयदेखि कारोबारमा सक्रिय नभएका सूचीकृत कम्पनीका सम्बन्धमा कानुनी तथा प्रक्रियागत सुधारका लागि अध्ययन गर्ने र सूचीकृत कम्पनीका आधिकारिक सूचना व्यवस्थित रूपमा प्रवाह गर्न डाटा डट नेपालस्टक डट कम पोर्टल विकास गरी लागू गर्ने निर्देशन दिइएको छ। नेप्सेलाई प्रत्येक महिना कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न तथा धितोपत्र कारोबारको टी प्लस दुई अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि भनिएको छ।
नेप्सेलाई दिइएका १९ मुख्य निर्देशन
- लगानीकर्ताले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणालीको सूचना प्रविधि अडिट तथा सुरक्षा परीक्षण गरी सोसम्बन्धी प्रतिवेदन पेश गर्ने।
- धितोपत्र कारोबार प्रणालीमा देखिँदै आएका समस्या पहिचान गरी नयाँ उपकरणबाट समेत सहज कारोबार हुने गरी कारोबार प्रणालीलाई थप आधुनिक, सक्षम र सुरक्षित बनाउने।
- धितोपत्र कारोबार व्यवस्थापन प्रणालीमा कृत्रिम बौद्धिकतामा आधारित प्रविधिको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्थाबारे अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सेको पूर्वाधार तथा आवश्यक कानुनी र अन्य व्यवस्थासम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्ने।
- अर्को व्यवस्था नभएसम्म कारोबार प्रणालीसँग जोडिएका सम्पूर्ण टीएमएसमा कृत्रिम बौद्धिकतामा आधारित प्रविधिको प्रयोगबाट कारोबार आदेश प्रविष्ट भएको पहिचान गरी त्यस्तो आदेश रोक्ने व्यवस्था गर्ने तथा यसबारे लगानीकर्तालाई सूचना प्रकाशन गर्ने।
- नयाँ लगानीकर्ता तथा विद्यार्थीलाई शेयर बजारको प्राविधिक अभ्यास गराउन सञ्चालनमा ल्याइएको आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्मलाई निरन्तर रूपमा प्रयोग गर्न सकिने गरी रोकावट नहुने व्यवस्था मिलाउने।
- धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ को विनियम ७ बमोजिम अफ्टर मार्केट अर्डर प्रभावकारी रूपमा लागू गर्ने।
- धितोपत्रको दोस्रो बजार कारोबार मोबाइल एपमार्फत गर्न सकिने आवश्यक व्यवस्था मिलाउने।
- सिडिएससीले सञ्चालनमा ल्याएको केन्द्रीय ग्राहक पहिचान प्रणालीलाई धितोपत्र कारोबारका लागि खोलिने टीएमएस खातामा समेत प्रयोग गर्न सकिने व्यवस्था गर्ने।
- नेप्से सूचकाङ्कलाई सबै इक्विटी सूचकाङ्कका रूपमा कायम राख्दै स्वतन्त्र कारोबारयोग्य शेयरका आधारमा नयाँ सूचकाङ्क विकास गरी त्यसलाई मानक सूचकाङ्कका रूपमा प्रयोग गर्ने व्यवस्थाका लागि तत्काल कार्य अगाडि बढाउने।
- स्वतन्त्र कारोबारयोग्य शेयरका आधारमा विकास गरिने नयाँ मानक सूचकाङ्कका आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्ने।
- स्थगित गरिएको कारोबार सत्रको अन्तिम १५ मिनेटको कारोबारलाई आधार लिएर नेप्से सूचकाङ्क गणना गर्ने विधि पुनः सञ्चालन गर्न सकिने वा नसकिने, कारोबार समयको अन्त्यमा हुने बजार आदेशको व्यवस्थापन तथा सूचीकृत कम्पनीको दोस्रो बजार कारोबारमा लागू रहेको दैनिक १५ प्रतिशतसम्मको घटबढसम्बन्धी सर्किट ब्रेकर पुनरावलोकन आवश्यक भए–नभएको विषयमा अध्ययन गरी एक साताभित्र बोर्डमा सुझाव पेश गर्ने।
- सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा वर्गीकरण प्रक्रियालाई वस्तुनिष्ठ बनाउने।
- पूँजी, प्रतिफल, तरलतालगायतका आधारमा लगानीयोग्य तथा अनुमानयोग्य नेप्से सूचकाङ्कलाई विविधीकरण गर्दै नेप्से सूचकाङ्कलाई स्थापित अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन प्रचलित सूचकाङ्क गणना गर्ने संस्थासँग सहकार्य अघि बढाउने।
- हाल गणना हुँदै आएको सेन्सेटिभ सूचकाङ्कलाई कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाई पुनरावलोकन गर्ने।
- संगठित संस्था सूचीकरण भएपछि पहिलो कारोबार मूल्य निर्धारणसम्बन्धी व्यवस्थालाई वैज्ञानिक बनाउन अन्तर्राष्ट्रिय अभ्यासअनुरूपको व्यवस्था गर्ने।
- सूचीकृत भएर लामो समयदेखि कारोबारमा सक्रिय नभएका कम्पनीका सम्बन्धमा कानुनी तथा प्रक्रियागत सुधारका विषयमा अध्ययन गरी सिफारिस गर्ने।
- सूचीकृत संगठित संस्थाका आधिकारिक सूचना प्रवाहसम्बन्धी व्यवस्था मिलाउन डाटा डट नेपालस्टक डट कम पोर्टल विकास गरी लागू गर्ने।
- प्रत्येक महिना कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने।
- धितोपत्र कारोबारको टी प्लस दुई अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने।














