सेयर बजारमा मूल्य प्रभावित पार्ने गतिविधि र शंकास्पद कारोबारको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवालसँग जोडिएका आर्थिक कारोबारमाथि निगरानी बढाएको छ। अनुसन्धानकै क्रममा अग्रवाल, उनका परिवारका सदस्य तथा कारोबारमा संलग्न केही व्यक्तिका बैंक खाता रोक्का गरिएको छ।
सीआईबीले अहिले अग्रवालको व्यक्तिगत कारोबारमा मात्रै नभई उनीसँग आर्थिक रूपमा जोडिएका व्यक्तिहरूको कारोबारसमेत केलाइरहेको छ। ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार अनुसन्धानको दायरामा परेका परिवारका सदस्य तथा अन्य साझेदारका बैंक खातामा समेत रोक लगाइएको हो।
अग्रवालमाथि सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाउने, वास्तविक कारोबारको स्वरूप नदेखिने गरी किनबेच गर्ने र त्यसबाट लाभ लिने गरेको आरोपमा अनुसन्धान भइरहेको छ। प्रकरणको सुरुवाती अनुसन्धान नेपाल धितोपत्र बोर्डले गरेको थियो। बोर्डले गरेको अध्ययनपछि थप अनुसन्धान आवश्यक देखिएको भन्दै विषय सीआईबीमा पठाइएको थियो। त्यसपछि गत पुसमा अग्रवाल पक्राउ परेका थिए। करिब १० दिन हिरासतमा बसेपछि उनी हाजिरी जमानीमा रिहा भएका थिए।
अनुसन्धानसँग सम्बन्धित पछिल्लो कदमका रूपमा बैंक खाता रोक्का गरिएको जानकारी पाएपछि अग्रवाल आफैं सीआईबी कार्यालय पुगेका थिए। त्यहाँ उनलाई अनुसन्धानमा आवश्यक सहयोग गर्न भनिएको र त्यसपछि उनी फर्किएको ब्यूरो स्रोतको भनाइ छ।
अग्रवालमाथि आफूले पहिले कम मूल्यमा सेयर खरिद गर्ने, त्यसपछि विभिन्न किसिमका प्रचारमार्फत उक्त सेयरको मूल्य बढाउने र मूल्य बढेपछि बिक्री गर्ने गरेको आरोप लामो समयदेखि लाग्दै आएको छ। धितोपत्र बोर्डको अध्ययनले पनि उनको कारोबारमा झुटा तथा अस्वाभाविक गतिविधि देखिएको निष्कर्ष निकाल्दै थप अनुसन्धानका लागि प्रहरीसमक्ष पठाएको थियो।
सीआईबीको अनुसन्धान अब सेयर कारोबारमा मात्रै सीमित नरहेको बताइएको छ। अनुसन्धानका क्रममा अग्रवालसँग सम्बन्धित सम्पत्ति तथा आर्थिक विवरणको आकार ठूलो देखिएपछि सम्पत्ति शुद्धीकरणको कोणबाट समेत अध्ययन भइरहेको छ।
ब्यूरो स्रोतका अनुसार अनुसन्धानका क्रममा करिब ५५ अर्ब रुपैयाँ बराबरको नेटवर्थसम्बन्धी विवरण फेला परेको छ। त्यसको स्रोत, स्वामित्व तथा कारोबारको प्रकृतिबारे थप अनुसन्धान भइरहेको छ।
अग्रवालले आफन्त तथा आफू निकटका संस्थाबीच वास्तविक स्वामित्व परिवर्तन नहुने किसिमले सेयर खरिद–बिक्री गरेको विषय पनि अनुसन्धानमा परेको छ। यस्तो कारोबारमा बजारमा किनबेच भएको देखिए पनि अन्तिम स्वामित्व एउटै समूहभित्र रहने गरेको आशंका गरिएको छ।
त्यसैगरी अरू व्यक्तिको नाममा रहेका सेयर कारोबार खाता आफैं सञ्चालन गर्ने गरेको आरोप पनि उनीमाथि छ। ब्रोकरबाट उठाउनुपर्ने रकम असुल गर्ने तर आफूले तिर्नुपर्ने रकमका विषयमा विवाद सिर्जना गरी भुक्तानी नगर्ने गरेको आरोपसमेत अनुसन्धानमा समेटिएको छ।
एउटा व्यक्तिको कारोबार खातामा रहेको रकम अर्को व्यक्तिको खातामा सार्ने गरेको भन्दै यसअघि नेपाल धितोपत्र बोर्डमा उजुरीसमेत परेको थियो।













