×
Lagani
Lagani Shiksha gif
यी हुन् छिटै आईपीओ निष्कासन गर्न लागेका ३० कम्पनि।



प्रतिकित्ता एक सय रुपैयाँका दरले प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्न लागिहाल्नुस् ।

सर्वसाधारणका लागि विभिन्न क्षेत्रका ३० कम्पनीले आईपीओ जारी गर्न थालेका छन् । आईपीओ अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउनेछ । दोस्रो बजार अपेक्षित रूपमा बढ्न नसकिरहेका बेला आईपीओमा लगानी गरेर आफ्नो पुँजी सही ठाउँमा व्यवस्थापन गर्न सेयर लगानीकर्ताले राम्रो अवसर पाउने भएका हुन् ।

धितोपत्र बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसका आधारमा अबको दुई महिनाभित्रै दुई दर्जनभन्दा बढी कम्पनीको आईपीओ बजारमा आउने जानकारहरू बताउँछन् । आइतबारसम्म धितोपत्र बोर्डमा आवेदन दिएका विभिन्न क्षेत्रका ३० कम्पनीले ६ अर्ब ६४ करोड ६५ लाख ५१ हजार ४ सय रुपैयाँ बराबरको (६ करोड ४३ लाख ७८ हजार ६ सय ५४ कित्ता) आईपीओ निष्कासन गर्न लागेका हुन् ।

सेयर निष्कासनका लागि आवेदन दिएका ३० कम्पनीमध्ये १६ वटा जलविद्युत् क्षेत्रका (कम्पनी) छन् । बिमा र होटल एन्ड टुरिजम्सका २/२, लघुवित्त, अन्य र उत्पादन तथा प्रशोधन क्षेत्रका ३/३ र एउटा इन्भेस्टमेन्ट कम्पनी छ ।

हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका जलविद्युत् कम्पनीमध्ये धेरैजसोले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका छन् । सेयर बजारमा ४९ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु आर्थिक वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी संख्या उल्लेख्य रूपमा बढेर ७० भन्दा बढी पुग्ने जानकारहरू बताउँछन् ।

नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । नेपाली पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको प्रभुत्व बिस्तारै घट्दो क्रममा छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घट्दै जानु र जलविद्युत्लगायत अन्य उपसमूहको हिस्सा बढ्दै जानुले यो पुष्टि हुन्छ । विगतका वर्षमा पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको हिस्सा ८० देखि ९० प्रतिशतसम्म थियो ।

यद्यपि पछिल्ला वर्षमा यस्तो हिस्सा घट्दो क्रममा छ, जसअनुसार गत जेठसम्म सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्रमा बजार पुँजीकरण हिस्सा ६७.७ प्रतिशत छ । गत जेठसम्म जलविद्युत् कम्पनीहरू आबद्ध रहेको जलविद्युत् उपसमूहको हिस्सा १०.८ प्रतिशत छ । अघिल्लो वर्षको जेठसम्म यस्तो हिस्सा ६.५ प्रतिशत थियो ।

जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्छ । स्थानीयलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ ।

नयाँ व्यवस्थाअनुसार जलविद्युत्लगायत उत्पादनमूलक क्षेत्रका कम्पनीले आयोजना प्रभावितबाहेक थप कम्तीमा १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ । सेयर बजारमा अपेक्षित रूपमा उत्पादनमूलक (वास्तविक) क्षेत्रका कम्पनी भित्र्याउन नसकेको आरोप सरकार र नियामक निकायलाई लाग्ने गरेको छ । जलविद्युत् कम्पनीको संख्या बढेसँगै सेयर बजारमा वित्तीय क्षेत्रका कम्पनीको प्रभुत्व घट्ने जानकारहरूको भनाइ छ ।

पछिल्लो समयमा उत्पादन तथा प्रशोधन, होटल तथा टुरिजम्सलगायत वास्तविक क्षेत्रका कम्पनीले पनि सेयर जारी गर्ने क्रम बढेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले १ अर्ब वा त्यसभन्दा बढी चुक्ता पुँजी भएका र वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने कम्पनी अनिवार्य रूपमा सेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था कार्यान्वयनमा आए धेरै कम्पनी दोस्रो बजारमा सूचीकृत हुनुपर्नेछ । कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस