अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयर अनुपातमा एक सय रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्न लागको हो ।
हाल १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ।
हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
यो पनि पढ्नुहोस : एक बर्षमा करिब १५ सयले नेप्से परिसूचक बढेर उत्साहजनक कारोबार गर्दै नेपाली शेयर बजारले यस बर्ष २०७७ लाई बिदाई गरेको छ ।बर्षकै अन्तिम कारोबार दिन, मंगलबार शेयर बजार मापक नेप्से सूचकले नयाँ रेकर्ड बनाएर यस वर्षलाई बिदाई गरेको छ।
यस दिन नेप्से सूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको छ। यो नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो।बर्षको अन्तिम दिन मंगलबार २०९ वटा कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।
यस दिन विकास बैंक र वाणिज्य बैंकहरुमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। १३ उपसमुहमा ६ उपसमूहको सूचकमा हरियाली छाएको छ भने ७ उपसमूहमा रातो पोतिएको छ ।
मंगलबार पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनआइसी एशिया लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशत बढेको छ भने माउन्टेन इनर्जीको ९.८९ प्रतिशत, ज्योति लाइफको ९.८३ प्रतिशत, सिन्धु विकास बैंकको ९.८२ प्रतिशत र छ्याङ्दी हाइड्रोको ९.८० प्रतिशतले बढेको छ।
यता लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा भने करेक्सन देखिएको छ। यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२७ प्रतिशतले घटेको छ भने लक्ष्मी लघुवित्तको ४.२७ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ३.५६ प्रतिशत, इन्फिनिटी लघुवित्तको ३.४७ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.३८ प्रतिशतले घटेको छ।
मंगलबार नविल बैंकको सबैभन्दा धेरै २८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल बैंकको २८ करोड १६ लाख, एनआइसी एशिया बैंकको २४ करोड ३५ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
दोब्बरले बढ्यो नेप्से परिसूचक
यस बर्ष नेप्से परिसूचक दोब्बर भन्दा धेरैले बढेको छ । असार १५ गते मात्रै खुलेको शेयर बजार यतिबेला बुमिङको अवस्थामा छ । असार १५ गते १२२३ रहेको नेप्से परिसूचक बर्षको अन्तिम दिन २७१४.७९ पुगेको छ । यस बर्षमा १४९१ भन्दा बढीले नेप्से परिसूचक बढेको छ ।
महामारीको समयमा अन्य सबैतिरबाट पीडित भएका नेपाली शेयर लगानीकर्तालाई बर्षको अन्तिमसम्म भने शेयरले मालामाल नै बनाएको छ ।
















