युवा संघ नेपाल र अनेरास्ववियु ताप्लेजुङले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन् ।
स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिंसात्मक कार्यलाई प्रोत्साहन दिनेगरी दिएको अभिव्यक्तिविरुद्ध युवा संघ र अखिलले संयुक्त रुपमा आन्दोलन स्वरुप मंगलबार साँझ सदरमुकाम फुङ्लिङमा पुत्ला दहन भएकाे हाे ।
एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली वीरेन्द्रचौकमा आएर पुत्ला दहनमा परीणत भएको अनेरास्ववियुका कार्यवाहक जिल्ला अध्यक्ष विवेक बानियाँले जानकारी दिए ।
रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्ति दिएकी थिइन् । अहिले यसको सर्वत्र विरोध भइरहेको छ ।
युवा संघका जिल्ला इञ्चार्ज युवा संघका जिल्ला इञ्चार्ज गोपाल न्यौपानेले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न ढिलाइ गरे युवा संघ त्यसको प्रतिरोधमा उत्रने चेतावनी दिए ।
मैले सिके राउतलाई मार्ने धम्की दिएको छैन : रेणु यादव
जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
रौतहटको गौरमा यही ५ माघमा ’बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौर काण्ड दोहोर्याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ । उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन् ।
‘हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ मन्त्री यादवले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो अभिव्यक्ति कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको भन्दै उनले सिके राउतलाई मार्ने धम्की नदिएको नाम उल्लेख नगरी बताएकी छन् ।
७ चैत २०६३ मा तत्कालीन नेकपा माओवादी र मधेशी जनअधिकार फोरमले गौरको राइसमिलमा कार्यक्रम आयोजना गर्दा भएको झडपमा २८ जना मारिएका थिए । सिके राउत नसच्चिए सोही घटना दोहो¥याउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको चौतर्फी विरोध भइरहेको छ ।
तर, सोमबार उनले विज्ञप्ति जारी गरेर भनेकी छन्, ‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अतिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछ । मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछ ।’











