पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी जल विद्युत आयोजनाका बारेमा यसअघि शीर्ष नेताहरुलाई लगाएको आरोप सच्याउँदै आफ्नै दाबीबाट पछि हटेका छन्।
गोरखामा शनिबार आयोजित गठबन्धन दलहरूको अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री भट्टराईले सो आरोप सच्चिएको बताएका हुन्। यसअघि भट्टराईले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आयोजनामा ९ अर्ब कमिसन खाएको आरोप लगाएका थिए।
कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘हिजो त्यतिबेला मैले अलिकति आलोचना गरेकै हो, किनभने नेपाली आफैंले बनाउनुपर्ने आयोजना कता–कता कसको खेलमा बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचनाहरु पाएको थिएँ, तर ती सूचनाहरु अपुष्ट थिए, त्यसको आधारमा मैले त्यो बेला बोलेकै हो, अब त्यो सच्चियो ।’
‘अपुष्ट सूचनाका आधारमा मैले त्यसबेला बोलेकै हो। अब त्यो सच्चियो। अब नेपाल आफँले त्यो आयोजना बनाउने भनिसक्यो,’ उनले भने, ‘बूढीगण्डकीबारे अब विवाद छैन। नेपाली आफैँले छिटो बनाउनुपर्यो। यो बहुउद्देशीय छ, बिजुली निकाल्ने मात्र होइन।’
अब बूढीगण्डकी छिटो बनाउने अभिभारा गोरखाबाट निर्वाचित भएपछि प्रचण्डको काँधमा जाने उनले बताए। सोही आरोपका विषयमा पछिल्ला वक्ता प्रचण्डले आरोप सच्याउन जरुरी रहेको बताएका थिए।
















