नेपाल स्टक एक्सचेञ्जमा साउन ३१ गते तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ ।
नेप्सेमा एकै दिन अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको हो । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले १ करोड ५९ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको छ । नेप्सेले एसजीएचसी (SGHC) स्टक संकेतबाट कम्पनीको उक्त शेयर सूचीकृत गराएको हो ।
हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि कम्पनीले न्यूनतम प्रतिकित्ता रू. ८९ दशमलव ८८ देखि अधिकतम रू. २६९ दशमलव ६४ सम्मको मूल्यरेञ्ज तोकेको छ । कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी काम भने सानिमा क्यापिटल लिमिटेडबाट हुनेछ ।
त्यस्तै अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको १ करोड ३५ लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले संस्थापक तर्फको ७५ दशमलव ५ प्रतिशत र सर्वसाधारण तर्फको स्थानीयमा वितरण गरिएको १० प्रतिशत र सामूहिक लगानीकोष र कर्मचारी सहित सर्वसाधारणमा जारी गरिएको १४ दशमलव ५ प्रतिशत शेयर सूचीकृत गराएको हो ।
नेप्सेले यूएसएचईसी (USHEC) संकेतबाट कम्पनीको शेयर कारोबार खुला हुने गरी पहिलो कारोबारका लागि खुला मूल्य प्रतिकित्ता न्यूनतम रू. १०८ दशमलव २१ देखि अधिकतम रू. ३२४ दशमलव ६३ सम्म तोकेको छ । कम्पनीको शेयर रजिष्ट्रारको सेवा एनएमबि क्यापिटलले दिनेछ ।
त्यसैगरि मंगलबारनै मन्दाकिनी हाइड्रोपावर लिमिटेडको कुल ५८ लाख ८० हजार ३६९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयर एमएचएल (MHL) कारोवार संकेतबाट सूचीकृत भएको छ । कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ७० प्रतिशत, स्थानीयतर्फ १० प्रतिशत र सामूहिक लगानी कोष र कर्मचारी सहित सर्वसाधारणतर्फ २० प्रतिशत स्वामित्व रहेको छ ।
कम्पनीको पहिलो शेयर कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम रू. १०२ देखि अधिकतम रू. ३०६ सम्मको मूल्यरेञ्ज तोकेको छ । मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा भने बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यी कम्पनीहरूको शेयर कारोबार नेप्सेले तोकेको मूल्यरेञ्जको आधारमा आज स्पेशल प्रि-ओपनिङ सेसनमा कारोबार भए मात्र नियमित सेसनमा कारोबार सुरु हुनेछ । तीन कम्पनीको आयोजना प्रभावित स्थानीय तर्फको शेयर भने आगमी तीन वर्षसम्म लकइन पिरियडमा रहनेछ ।













