×
Lagani
Lagani Shiksha gif
सामाजिक सुरक्षा भत्ता घरदैलोमै , अबदेखि बैंक धाउनु नपर्ने



दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई नागरिकमैत्री र सर्वसुलभ बनाउने दिशामा एउटा महत्वपूर्ण कदम चालेको छ। यस गाउँपालिकाले अब लाभग्राहीको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ, जसले गर्दा बैंकसम्म धाउनुपर्ने बाध्यताबाट नागरिकले मुक्ति पाएका छन्।

गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार, ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक रूपमा अशक्त नागरिकको सहजतालाई मध्यनजर गर्दै यो ‘घरदैलो भत्ता’ वितरण प्रणाली लागू गरिएको हो। भौगोलिक विकटता र टाढाका वडाका नागरिकलाई पालिका केन्द्र गोटीखेलस्थित बैंकसम्म पुगेर भत्ता लिनुपर्ने झन्झट अब अन्त्य भएको छ। उपाध्यक्ष गोलेले यस कार्यले विशेषतः दुर्गम क्षेत्रका बासिन्दालाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिन्।

Lagani Shiksha gif
sharehubapk सामाजिक सुरक्षा भत्ता घरदैलोमै , अबदेखि बैंक धाउनु नपर्ने

यस सेवाको औपचारिक सुरुवात महाङ्काल गाउँपालिका–६ ठूलादुर्लाङबाट गरिएको हो। घरमै भत्ता प्राप्त गर्दा ज्येष्ठ नागरिक, अशक्त व्यक्ति र एकल महिलाहरूले निकै खुसी व्यक्त गरेका छन्। गाउँपालिकाले आगामी दिनमा यो सुविधालाई पालिकाका सम्पूर्ण वडामा विस्तार गर्ने तयारी गरिरहेको छ।

यसैबीच, उपाध्यक्ष गोलेका अनुसार घुम्ती शिविरहरू सञ्चालन गरी नागरिकता सिफारिस, सामाजिक सुरक्षा सेवा र व्यक्तिगत घटना दर्ताजस्ता आवश्यक सेवाहरू वडा स्तरमै उपलब्ध गराइनेछ। “अब पालिकामा होइन, सेवा तपाईंको घरमै” भन्ने नाराका साथ, गाउँपालिकाले सेवा प्रवाहलाई अझ प्रभावकारी र नागरिक केन्द्रित बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यस पहलले स्थानीय सरकारको नागरिकप्रति उत्तरदायित्व र सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस