चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बस्ने लटौली सेन्चुरी रिसोर्ट पछिल्ला दिनमा चर्चाको केन्द्र बनेको छ।
कालिका नगरपालिका–९ शक्तिखोरमा रहेको यो रिसोर्ट प्रधानमन्त्रीको बसाइका लागि पूर्ण रूपमा बुक गरिएको छ। प्रधानमन्त्रीको बसाइसँगै रिसोर्टको शुल्क र सुविधाबारे पनि चासो बढेको छ। रिसोर्टको आधिकारिक वेबसाइटअनुसार यहाँ डिलक्स रुम र सुइट रुम गरी दुई प्रकारका आवास सुविधा उपलब्ध छन्।
डिलक्स रुमको शुल्क प्रतिरात १५५ अमेरिकी डलर तोकिएको छ। हालको विनिमय दरअनुसार यो रकम नेपाली मुद्रामा करिब २३ हजार ३५९ रुपैयाँ बराबर हुन्छ। त्यस्तै, रिसोर्टको सुइट रुममा एक रात बस्न २२५ अमेरिकी डलर तिर्नुपर्छ, जुन नेपाली मुद्रामा करिब ३३ हजार ९०८ रुपैयाँ हुन आउँछ।
रिसोर्टका डिलक्स रुमहरूमा निजी बाल्कोनी, आधुनिक बाथरुम तथा जंगल क्षेत्रको दृश्य अवलोकन गर्न सकिने सुविधा छ। सुइट रुममा भने थप फराकिलो बस्ने व्यवस्था, छुट्टै लिभिङ स्पेस तथा जाकुजीजस्ता सुविधा समावेश गरिएको छ।

प्राकृतिक वातावरणबीच निर्माण गरिएको लटौली सेन्चुरी रिसोर्टमा स्विमिङ पुल, स्पा, हेल्थ क्लब, रेष्टुरेन्ट तथा अन्य पर्यटकीय सुविधा उपलब्ध छन्। शक्तिखोर क्षेत्रको हरियाली र पहाडी दृश्यलाई लक्षित गरी निर्माण गरिएको यो रिसोर्ट सञ्चालनमा आएको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
प्रधानमन्त्री शाहको बसाइका लागि रिसोर्टका सबै १६ कोठा चार दिनका लागि बुक गरिएको छ। सुरक्षा व्यवस्थापनका कारण रिसोर्टका अधिकांश कर्मचारीलाई बिदा दिइएको छ भने सीमित कर्मचारीमार्फत मात्र सेवा सञ्चालन भइरहेको स्रोतले जनाएको छ। रिसोर्टका सबै सीसीटीभी क्यामेरा बन्द गरिनुका साथै कर्मचारीलाई मोबाइल फोन लैजान र फोटो खिच्नसमेत रोक लगाइएको बताइएको छ।
प्रधानमन्त्रीको बसाइसँगै चर्चामा आएको यो रिसोर्ट चितवनका महँगा र सुविधा सम्पन्न रिसोर्टमध्ये एक मानिन्छ, जहाँ सबैभन्दा महँगो सुइट रुममा एक रात बिताउन मात्रै करिब ३४ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ।
















ओ खाते @नेप्से बजार ! डॉलर मा उल्लिखित दर विदेशी नागरिक का लागी मान्य हुन्छ जसको मुल्य २३०-३०० डॉलर लेख्यौ नेपालीलाई नेपाली रु. १०-१५ र भारतीयलाई त्यही ₹ मा लागू हुन्छ l ४०-५० हजार सटही दरमा हुदैन। एक पटक नेपाल को तारे होटल र कुनै नेपाली एयर लायन्स को दर पनि बुझ ।
समाचारमा उल्लेख गरिएको रकम रिसोर्टको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको दरकै आधारमा गणना गरिएको हो। वेबसाइटमा नेपाली र विदेशी नागरिकका लागि छुट्टाछुट्टै नियमित दर उल्लेख गरिएको छैन। प्रकाशित मूल्य अमेरिकी डलरमा भएकाले त्यसलाई प्रचलित विनिमय दरअनुसार नेपाली रुपैयाँमा रूपान्तरण गरिएको हो। विशेष अफर वा छुटका प्याकेजहरू भने समयअनुसार फरक हुन सक्छन्, तर समाचारमा प्रयोग गरिएको दर वेबसाइटमा सार्वजनिक गरिएको नियमित दरकै आधारमा हो।