काठमाडौं, ०४ असार । गरिमा विकास बैंक लिमिटेडका सेयरधनीहरूले विगतका आर्थिक वर्षहरूको बाँकी रहेको नगद लाभांश बुझिलिने अन्तिम मौका पाएका छन्। बैंकले एक सूचना जारी गर्दै लामो समयदेखि रोकिएको लाभांश रकम आगामी एक महिनाभित्र बुझिलिन आफ्ना सेयरधनीहरूलाई ताकेता गरेको हो। यदि तोकिएको समयभित्र दाबी नगरेमा उक्त रकम कानुनबमोजिम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले स्पष्ट पारेको छ।
मुख्य तथ्यहरू
कुन–कुन बैंकको लाभांश?: गरिमा विकास बैंकसहित यसमा गाभिएका साविकका निलगिरी, शुभेच्छा र साहारा विकास बैंक।
कुन अवधिको लाभांश?: आर्थिक वर्ष २०६६÷६७ देखि २०७३÷७४ सम्मको वार्षिक साधारण सभाबाट पारित नगद लाभांश।
दाबी गर्ने अन्तिम म्यादः सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र।
सम्पर्क गर्ने स्थानः गरिमा विकास बैंकको केन्द्रीय कार्यालय (लाजिम्पाट, काठमाडौँ) वा सेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेड।
समयमै भुक्तानी नलगे के हुन्छ?
बैंकका अनुसार तोकिएको एक महिनाको अवधिभित्र पनि सम्बन्धित सेयरधनीहरूले आफ्नो लाभांश दाबी नगरेमा कम्पनी ऐन, २०६३ को व्यवस्था लागू हुनेछ।
कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा (९) बमोजिम दाबी नपरेको उक्त सम्पूर्ण लाभांश रकम ’लगानीकर्ता संरक्षण कोष’ मा जम्मा गरिनेछ। त्यसपछि उक्त रकम बैंकबाट भुक्तानी लिन पाइने छैन।
तसर्थ, साविकका निलगिरी, शुभेच्छा, साहारा र हालको गरिमा विकास बैंकका सेयरधनीहरूलाई आफ्नो विवरण जाँच गरी समयमै लाभांश बुझ्न बैंकले अनुरोध गरेको छ।
















