काठमाडौं, ०४ असार । भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा नेपाली चिया निर्यातमा अवरोध खडा गरेपछि कोशी प्रदेशका चिया उद्योग गम्भीर संकटमा परेका छन्। निर्यात रोकिँदा उद्योगहरूको नगद प्रवाह प्रभावित भएको छ भने हजारौं किसान, श्रमिक र उद्यमी प्रत्यक्ष मारमा परेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश (एफएनसीसीआई कोशी प्रदेश) ले नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल हटाउन सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
महासंघद्वारा जारी विज्ञप्तिअनुसार कोशी प्रदेशका झापा, इलामलगायत जिल्लामा उत्पादित चिया भारततर्फ निर्यात गर्ने क्रममा भारतीय पक्षले गुणस्तर परीक्षणको नाममा गैर–भन्सार अवरोध सिर्जना गरेको छ। यसका कारण ठूलो परिमाणमा तयार चिया सीमावर्ती नाकामै रोकिएको जनाइएको छ।
निर्यात प्रभावित हुँदा चिया उद्योगहरूको गोदाममा मौज्दात थुप्रिनुका साथै नगद प्रवाहमा गम्भीर समस्या देखिएको महासंघले जनाएको छ। यसले उद्योग सञ्चालनमै चुनौती थपिएको बताइएको छ।
महासंघका अनुसार समस्याको प्रत्यक्ष असर हजारौं चिया किसान, श्रमिक तथा उद्यमीमाथि परेको छ। निर्यात अवरुद्ध भएपछि कोशी प्रदेशका चिया उद्योगहरू पछिल्ला तीन दिनदेखि अनिश्चितकालीन बन्दको अवस्थामा पुगेका छन्।
नेपालमा करिब १० हजार हेक्टर क्षेत्रफलमा वार्षिक २ करोड ७४ लाख किलोग्राम चिया उत्पादन हुने गरेको छ। यस क्षेत्रले २० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। उत्पादित चिया भारतसहित विभिन्न तेस्रो मुलुकमा निर्यात हुने गरेको छ।
महासंघले उद्योग बन्द हुँदा रोजगारी गुम्ने जोखिम बढ्ने र क्षेत्रीय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने चेतावनी दिएको छ। साथै, चिया निर्यातलाई सहज बनाउन नेपाल सरकारले तत्काल पहल गरी समस्या समाधान गर्नुपर्ने माग गरेको छ।
















