×
Lagani
Lagani Shiksha gif
बीमा कम्पनीको करिब ४ अर्ब रुपैयाँ सेयर बजारमा चलखेलमा प्रयोग, प्रहरीलाई थप अनुसन्धानको सिफारिस



सेयर बजारमा हुने अनधिकृत चलखेलमा बीमा कम्पनीहरूको ठूलो रकम दुरुपयोग भएको एक प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र उनको समूहले विभिन्न बीमा कम्पनीहरूको करिब ४ अर्ब रुपैयाँभन्दा बढी रकम सेयर बजारमा चलखेल गर्नका लागि प्रयोग गरेको निष्कर्षमा नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ।

Lagani Shiksha gif
sharehubapk बीमा कम्पनीको करिब ४ अर्ब रुपैयाँ सेयर बजारमा चलखेलमा प्रयोग, प्रहरीलाई थप अनुसन्धानको सिफारिस

बोर्डको सुपरीवेक्षण विभागले गरेको अनुसन्धान अनुसार, भट्ट र उनको समूहले आफूहरूको लगानी रहेका बीमा कम्पनीहरूको ‘फन्ड’को दुरुपयोग गरी सेयर कारोबारमा संलग्न भएका हुन्। बीमा कम्पनीहरू सर्वसाधारणको ठूलो लगानी र प्रिमियम संकलन गर्ने सार्वजनिक लिमिटेड कम्पनी भएकाले यस किसिमको दुरुपयोगले आम लगानीकर्ताको हितमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

सेबोनको अनुसन्धानले भट्टको सेयर कारोबारसँग जोडिएका नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीहरू, लगानी कम्पनीहरू र ठूला व्यापारिक घरानाहरूको समेत सेयर कारोबारको विश्लेषण गरेको थियो। सोही क्रममा, भट्टले व्यक्ति र निजी कम्पनीहरूबाट सस्तोमा सेयर खरिद गरी ती कम्पनीहरूलाई बढी मूल्यमा बेचेको पाइएको छ। यसरी खरिद गरिएका सेयरहरूको भुक्तानीका लागि उधारो प्रबन्ध गरिएको प्रतिवेदनमा उल्लेख छ।

यो अनधिकृत कारोबारका प्रमुख पात्रका रूपमा व्यवसायी दीपक भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप चाचनलाई औँल्याइएको छ। उनीहरूमाथि धितोपत्र ऐन, २०६३ को दफा ९६ (बजारलाई प्रभावित पार्ने) र ९८ (जालसाजीयुक्त कारोबार) अनुसार कसूर गरेको सेबोनको ठहर छ।

यस कार्यमा हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापसर्भ लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छाको समेत संलग्नता रहेको प्रतिवेदनमा औंल्याइएको छ। साथै, शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, ऋषिराज मोर र राजबहादुर शाह पनि नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने कार्यमा संलग्न देखिएका छन्।

यी व्यक्ति र संस्थाहरूले धितोपत्रको मूल्य बढाउन पहिले आफैंले सेयर खरिद गर्ने र त्यसपछि आफ्नो प्रभावमा रहेका बीमा कम्पनीहरूलाई सोही सेयर महँगोमा किन्न लगाउने गरेको सेबोनले औंल्याएको छ। भट्ट र उनको समूहले करिब ३ अर्ब ८० करोड रुपैयाँको उधारो सेयर कारोबार गरेको बोर्डले ठहर गरेको छ।

दीपक भट्टले भृकुटी स्टक ब्रोकिङलाई २ अर्ब ८९ करोड २० लाख रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनले उल्लेख गरेको छ। त्यसैगरी, राजबहादुर शाहको ८९ करोड ७० लाख ९७ हजार रुपैयाँ, शुभी अग्रवालको ६२ करोड ८९ लाख ५६ हजार रुपैयाँ र ऋषिराज मोरको २३ करोड रुपैयाँभन्दा बढी रकम भृकुटी स्टक ब्रोकिङलाई तिर्न बाँकी रहेको पाइएको छ।

सेबोनले यो प्रकरणमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको छ। साथै, बीमा प्राधिकरण र सम्पत्ति शुद्धीकरण विभागलाई पनि यस विषयमा थप अनुसन्धान गर्न सुझाव दिएको छ।

यस कारोबारमा संलग्न भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई सेबोनले निलम्बन गरेको छ। सेबोनको सञ्चालक समितिले स्वीकृत गरेको यो प्रतिवेदनका आधारमा प्रहरीले आवश्यक कारबाही अघि बढाउने जनाइएको छ। सेबोनका एक अधिकारीले यसलाई पुँजी बजारमा अनुशासित कारोबारको अभ्यासका लागि एउटा ऐतिहासिक कदमका रूपमा टिप्पणी गरेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस