चालू आर्थिक बर्षको ११ महिनामा सबै भन्दा बढी डिजेल आयात भएको छ ।
भन्सार विभागका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोडको डिजल आयात भएको छ । यस अवधिमा १२ लाख ६४ हजार किलो लिटर डिजल आयात भएको छ ।
त्यस्तै धेरै आयातको सूचीको दोस्रो स्थानमा भटमास तेलको कच्चा पदार्थ रहेको छ । विभागका अनुसार ११ महिनामा एक खर्ब १९ अर्ब ६३ करोड बराबरको भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । यस अवधिमा ७२ करोड ६४ लाख लिटर टमास तेलको कच्चा पदार्थ आयात भएको छ ।
त्यस्तै यस अवधिमा पेट्रोल तेस्रो धेरै आयात हुने वस्तु रहेको छ । यस अवधिमा पेट्रोल ६८ अर्ब १७ करोडको ६ लाख ८५ हजार किलो लिटर पेट्रोल आयात भएको छ ।
त्यस्तै ११ महिनामा ५३ अर्ब ६९ खर्ब बराबरको एक अर्ब २२ करोड ८६ लाख केजी स्पन्ज आइरन आयात भएको छ । त्यस्तै एलपीजी ग्यास ५२ अर्ब २१ करोड बराबरको ४७ करोड ५९ लाख केजी आयात भएको विभागले जनाएको छ ।
भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार चालु आर्थिक वर्षको ११ महिना साउनदेखि जेठसम्म सम्ममा १८ खर्ब ९४ अर्बको बस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा भन्दा १५.१६ प्रतिशतले आयात बढेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १६ खर्ब ४४ अर्बको आयात भएको थियो ।
















