×
Lagani
Lagani Shiksha gif
युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट।



युएईलाई पराजित गर्दै नेपाल टि २० विश्वकपमा छनोट भएको छ ।

शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो  । नेपालले यसअघि  सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

जितका लागि युएईको दिएको १३५ रनको मध्यम लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकिय पारी खेले । उनले ५१ बलमा ७ चौका र १ छक्काको मद्धतमा ६६ रनको योगदान गरे । अर्का ओपनर कुशल भुर्तेल भने २ चौका प्रहार गर्दै ११ रन बनाएर क्याचआउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुल्सान झाले ३ चौकाको मद्धतमा २२ रन बनाए भने कप्तान रोहित पौडेलले ३४ रन जोडे । युएईका लागि निलांस केसवानी र बासिल हमिदले एक एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

युएईका लागि वृत्य अरविन्दले अर्धशतकिय पारी खेले । उनले ५१ बलमा ८ चौका र २ छक्काको मद्धतमा ६४ रन जोडे । कप्तान मोहम्मद वसीम र खालिद शाहले उत्कृष्ट सुरुवात गरेका थिए । वसीमले १६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २६ रनको योगदान गरे । यता, शाह भने ३ रन बनाउँदै रनआउट हुन पुगे ।

यस्तै, आसिफ खानले १३ रन, अलिशान शराफुले १३ रन, अली नसीरले ४ रन, बासिल हमिदले १ रन, आयान अफजल खानले १ रन, जुनैद सिद्दिकीले ३ रन  बनाए । नेपालका लागि कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । उनले ३ ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका हुन् । उनले अन्तिम ओभरमा दुई विकेट लिए ।

सन्दीप लामिछानेले ४ ओभर खेल्दै १४ रन खर्चेर २ विकेटसहित एक मेडन लिए । कप्तान रोहित पौडेल र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस