माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि नतिजा प्रकाशन प्रक्रिया अघि बढाइएको हो। हाल नतिजासम्बन्धी तथ्यांक अपलोड गर्ने काम भइरहेकोले परीक्षार्थीले नतिजा हेर्न केही समय कुर्नुपर्ने शिक्षा सचिव चुडामणि गौतमले जानकारी दिएका छन्।
नतिजा पूर्ण रूपमा अपलोड भएपछि विद्यार्थीले एसएमएस, आईभीआर, यूएसएसडी तथा विभिन्न वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्न परीक्षार्थीलाई आफ्नो सिम्बोल नम्बर आवश्यक पर्नेछ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नेपाल टेलिकममार्फत एसएमएस, यूएसएसडी तथा आईभीआर प्रयोग गरी नतिजा हेर्न सकिनेछ। यसका लागि विद्यार्थीले १६०० सेवा प्रयोग गर्न सक्नेछन्। त्यस्तै, जानकी टेक्नोलोजी प्रालि अर्थात् स्प्यारो एसएमएसमार्फत ३५००१ मा एसएमएस पठाएर पनि नतिजा हेर्न सकिनेछ।
वेबसाइटबाट नतिजा हेर्न चाहने विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रण कार्यालयका आधिकारिक वेबसाइट प्रयोग गर्न सक्नेछन्। साथै बोर्डले नतिजा प्रकाशनका लागि विभिन्न संस्था तथा वेबसाइटलाई समेत अनुमति दिएको छ।
नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन् :
www.see.gov.np
www.neb.gov.np
www.see.ntc.net.np
www.ekantipur.com
www.see.edusanjal.com
khalti.com/app
see.collegenepal.com
theconnectplus.com
ncellapp.ncell.com.np/result
result.neemaacademy.com
resultayo.com
see.ambition.guru
see.merostudy.net
nebeducation.com/see
यस वर्ष एसईई परीक्षा चैत २९ गते सकिएको थियो। सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेको थियो। नतिजा छिटो सार्वजनिक गर्न परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाइएको थियो।
यस वर्ष एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ जना छात्र र ७ जना अन्य विद्यार्थी सहभागी भएका थिए। जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो।
नतिजा सार्वजनिक भएपछि एकैपटक धेरै विद्यार्थीले वेबसाइट प्रयोग गर्ने भएकाले केही समय वेबसाइट ढिलो खुल्न सक्ने सम्भावना छ। वेबसाइटमा समस्या आएमा विद्यार्थीले एसएमएस, यूएसएसडी वा आईभीआर सेवा प्रयोग गरेर पनि नतिजा हेर्न सक्नेछन्।










