पूर्वमाओवादी नेता सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने भएका छन्।
सो पार्टीभित्र नेतृत्वको बाँडफाँटमा दुई पक्षबीच भएको सहमतिले यो कुरा निश्चित भएको हो। सम्झौता अनुसार, किराती पक्षले पार्टीको वरिष्ठ नेता पदका अतिरिक्त एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पदमा पनि प्रतिनिधित्व पाउनेछ। यो सहमतिले श्रम संस्कृति पार्टीभित्रको आन्तरिक सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र किराती पक्षका नेताबीच ललितपुरमा भएको छलफलपछि यो महत्वपूर्ण निर्णय गरिएको हो। यस एकता तथा नेतृत्व बाँडफाँटको औपचारिक घोषणा आज काठमाडौंको बागबजारस्थित एक समारोहमा गरिनेछ। अपराह्न तीन बजे हार्दिक होटलमा आयोजना हुने यस कार्यक्रमले दुई पक्षीय सहकार्यलाई औपचारिक रुप दिनेछ।
भोजपुरका सुदन किराती यसअघि पर्यटनमन्त्री भईसकेका एक प्रभावशाली पूर्वमाओवादी नेता हुन्। तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको एकता पश्चात गठन भएको नेपाल कम्युनिस्ट पार्टीमा असहमति जनाउँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आवद्ध भएका थिए। माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा स्थापित प्रलोपामा किराती अध्यक्ष मण्डलका सदस्य थिए। यद्यपि, फागुन २१ गतेको निर्वाचन पश्चात उनले प्रलोपा परित्यागको घोषणा गरेका थिए।









