राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेतृत्व चयनका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिने भएको छ।
पार्टीले मतदान प्रक्रियालाई छिटो, पारदर्शी र आधुनिक बनाउन इलेक्ट्रोनिक मतदान प्रणाली अपनाउने तयारी गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशनमा प्रतिनिधिहरूले इलेक्ट्रोनिक उपकरणमार्फत उम्मेदवार चयन गर्न सक्नेछन्। मतदानका लागि प्रत्येक प्रतिनिधिले स्क्रिनमा देखिने नाम र फोटो ट्याप गरेर आफ्नो मत दिन सक्ने व्यवस्था मिलाइएको छ।
आयोगले निर्वाचन प्रक्रियालाई चरणबद्ध रूपमा सञ्चालन गर्ने जनाएको छ। पहिलो चरणमा अध्यक्ष तथा केन्द्रीय समिति सदस्यहरू चयन गरिनेछ भने त्यसपछि पदाधिकारीहरू (उपाध्यक्ष, महामन्त्री तथा अन्य) चयन गरिने कार्यक्रम रहेको छ।
विदेशमा रहेका प्रतिनिधिहरूका लागि पनि मतदानको व्यवस्था गरिएको छ। उनीहरूले पार्टीको मोबाइल एपमार्फत मतदान गर्न सक्नेछन्। निर्वाचन आयोगले यस प्रणालीले मतगणनाको समय घटाउने र मत परिणाम छिटो सार्वजनिक गर्न सहयोग पुग्ने जनाएको छ।
रास्वपाको महाधिवेशनमा करिब ३ हजार प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।
















