इंग्ल्याण्डको पुरुष क्रिकेट टोलीले नेपालसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने सम्भावना बलियो बनेको छ। इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड ईसीबीले सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय भ्रमण तालिका अर्थात् एफटीपी चक्रमा नेपालसँग छोटो टी–२० सिरिज खेल्ने विषयमा गृहकार्य सुरु गरेको बताइएको छ।
यदि यो भ्रमण सफल भएमा इंग्ल्याण्ड नेपाल भ्रमण गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट टोली बन्नेछ। तालिका मिलेको अवस्थामा इंग्ल्याण्डले भारत भ्रमणअघि वा पछि नेपालमा दुई वा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न सक्ने सम्भावना रहेको छ।
नेपाली क्रिकेटले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गर्दै आएको छ। नेपालले एसोसिएट राष्ट्रका रूपमा निरन्तर राम्रो प्रदर्शन गर्दै टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता देखाइसकेको छ। गत वर्ष संयुक्त अरब इमिरेट्समा वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले पहिलोपटक आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध सिरिज जितेर ऐतिहासिक सफलता हात पारेको थियो।
यद्यपि नेपालले अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्रलाई आफ्नो भूमिमा पूर्ण अन्तर्राष्ट्रिय सिरिजका लागि आतिथ्य गर्ने अवसर पाएको छैन। त्यसैले इंग्ल्याण्डजस्तो बलियो टोली नेपाल आउने सम्भावनालाई नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ। यसले नेपाली खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिने मात्र नभई नेपालको क्रिकेट बजार, समर्थक संस्कृति र पूर्वाधारलाई पनि विश्वसामु चिनाउने अपेक्षा गरिएको छ।
यसअघि क्रिकेट आयरल्याण्डले पनि नेपाल क्रिकेट संघ क्यानसँग पाँच वर्षे रणनीतिक साझेदारी सम्झौता गरिसकेको छ। सोही सम्झौताअनुसार आयरल्याण्डले सन् २०२६–२७ को हिउँदमा नेपालमा ह्वाइट–बल सिरिज खेल्ने योजना बनाएको छ। आयरल्याण्डपछि इंग्ल्याण्डको सम्भावित भ्रमणले नेपाललाई ठूला अन्तर्राष्ट्रिय टोलीको गन्तव्यका रूपमा स्थापित गर्न थप मद्दत गर्ने देखिन्छ।
नेपाल र इंग्ल्याण्डबीच गत फेब्रुअरीमा सम्पन्न टी–२० विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा भएको थियो। मुम्बईको वानखेडे स्टेडियममा भएको उक्त रोमाञ्चक खेलमा इंग्ल्याण्डले नेपाललाई अन्तिम बलमा पराजित गरेको थियो। सो खेलपछि नेपाल क्रिकेट संघका सचिव पारस खड्काले भारतमै ईसीबीका अधिकारीहरूसँग द्विपक्षीय सिरिजका विषयमा छलफल गरेको बताइएको छ।
ईसीबीले अहिले २०२७ देखि २०३१ सम्मको एफटीपीका लागि विभिन्न क्रिकेट बोर्डहरूसँग छलफल गरिरहेको छ। सोही क्रममा नेपालसँग छोटो टी–२० सिरिज राख्ने सम्भावनाबारे पनि प्रारम्भिक गृहकार्य भएको हो। इंग्ल्याण्डले भारत भ्रमणसँग जोडेर नेपाल भ्रमणको तालिका मिलाउन सक्ने भएकाले यो प्रस्ताव व्यावहारिक देखिएको छ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि ठूला राष्ट्रको नेपाल भ्रमण नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि हुने बताउँदै आएका छन्। उनका अनुसार अस्ट्रेलिया वा इंग्ल्याण्डजस्ता टोली नेपाल आए भने त्यसले नेपालले राम्रो क्रिकेट खेल्न सक्छ भन्ने सन्देश विश्वलाई दिनेछ।
नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षण अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि देखिन थालेको छ। स्काई स्पोर्ट्सले हालै ‘नेपाल: क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ नामक वृत्तचित्र प्रसारण गरेको छ, जसमा नेपालको क्रिकेटप्रतिको लगाव, समर्थकको उत्साह र खेलको बढ्दो लोकप्रियतालाई प्रस्तुत गरिएको छ। उक्त वृत्तचित्रमा पारस खड्काले नेपाली क्रिकेटलाई अब एक्सपोजर आवश्यक रहेको र टेस्ट राष्ट्रहरूसँग खेल्दा मात्रै खेलाडीको स्तर अझ माथि उठ्ने बताएका छन्।
खड्काका अनुसार क्रिकेट अहिले नेपाली बालबालिकाको मनमा बसिसकेको छ। यो खेल मात्र नभई देशलाई जोड्ने महत्वपूर्ण माध्यम बनेको उनको भनाइ छ। इंग्ल्याण्डजस्तो टोलीको सम्भावित नेपाल भ्रमणले नेपाली क्रिकेटको विकास यात्रामा नयाँ अध्याय थप्न सक्ने देखिन्छ।










