×
Lagani
Lagani Shiksha gif
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको चर्को मार: तरकारी र खाद्यान्नमा भार



चालु आर्थिक वर्षको वैशाख महिनामा दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि क्रम जारी रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको मासिक मूल्य समीक्षा प्रतिवेदनले देखाएको छ। देशभरिका प्रमुख सहरको बजार विश्लेषण गर्दा तरकारी र खाद्यान्नको मूल्यमा तीव्र उतारचढाव आएको पाइएको हो।

तरकारीमा आकासिँदो मूल्य: उपभोक्ताको ढाड सेक्ने गरी वृद्धि

यस अवधिमा तरकारीको मूल्यवृद्धिले उपभोक्ताको ढाड सेक्ने गरी भार थपेको छ। वैशाखमा अत्यधिक उतारचढाव आएका प्रमुख पाँच तरकारीमध्ये घिउसिमी लोकलको मूल्यमा सबैभन्दा बढी ३३४.७८ प्रतिशतको वृद्धि भएको छ। महिनाको सुरुमा प्रतिकिलो २३ रुपैयाँमा पाइने घिउसिमी महिनाको अन्त्यतिर १ सय रुपैयाँसम्म पुगेको छ।

यस्तै, तने बोडीको मूल्य २ सय ५० प्रतिशतले बढेर प्रतिकिलो १ सय ५ रुपैयाँ, लौकाको मूल्य १ सय ६५ प्रतिशतले बढेर ५३ रुपैयाँ, फर्सी हरियो लामोमा १३८.८९ प्रतिशत र काँक्रो हाइब्रिडमा १ सय २५ प्रतिशतले मूल्य वृद्धि भएको छ। गोलभेँडा सानो (लोकल), काउली स्थानीय, ब्रोकाउली र जिरीको साग जस्ता वस्तुमा समेत १ सय प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ।

खाद्यान्नमा समेत राहतको अभाव, इन्धन र डलरको प्रभाव

तरकारी मात्र होइन, खाद्यान्नमा समेत उपभोक्ताले राहत पाउन सकेका छैनन्। भारतबाट आयात हुने कच्चापदार्थको मूल्यमा सामान्य वृद्धि र पेट्रोलियम पदार्थमा भएको तीव्र मूल्य वृद्धिका कारण ढुवानी खर्च बढेपछि चैतको तुलनामा वैशाखमा चामलको मूल्य बढेको छ। सोना मन्सुली चामल प्रतिकिलो ६४ देखि ९५ रुपैयाँसम्म छ भने बासमती चामल काठमाडौं उपत्यकामा १ सय ९० रुपैयाँ किलोसम्म पुगेको छ।

दाल तथा गेडागुडीमा समेत उपभोक्ताले महँगीको सामना गर्नुपरेको छ। मासको दाल प्रतिकिलो २ सय ७ रुपैयाँ र रहरको दाल २ सय ७० रुपैयाँसम्म बिक्री भएको छ। राज्माको मूल्य प्रतिकिलो १ सय ७० देखि ३ सय रुपैयाँसम्म पुग्दा उपभोक्तामा थप भार परेको छ।

मासु, अन्डा र तेलमा सामान्य उतारचढाव, केही वस्तुमा स्थिरता

प्रतिवेदन अनुसार कुखुराको मासु (ब्रोइलर) र खसीको मासुको मूल्य स्थिर रहेको छ। अन्डाको मूल्य प्रतिक्रेट ६ सय पुगेको छ भने माछाको मूल्यमा सामान्य वृद्धि देखिएको छ। तेलका हकमा तोरीको तेल प्रतिलिटर ३ सय ६० र भटमासको तेल २ सय ९३ रुपैयाँसम्म पुगेको छ। यद्यपि, भारतीय रातो आलु, घिउसिमी राज्मा, तोफु, इमली र तरबुजा जस्ता केही वस्तुको मूल्यमा भने महिनाभरि स्थिरता देखिएको छ।

मूल्यवृद्धिका पछाडि बाह्य र आन्तरिक कारणको भूमिका

यो अस्वाभाविक मूल्यवृद्धिका पछाडि बाह्य र आन्तरिक दुवै कारण प्रमुख देखिएका छन्। समीक्षा अवधिमा पेट्रोलियम पदार्थको मूल्यमा ६ पटकसम्म भएको परिवर्तनले ढुवानी भाडा, गाडी भाडा र हवाई भाडामा भारी वृद्धि गराएको छ। २ वैशाखमा पेट्रोल २ सय १९ र डिजेल २ सय ३७ रुपैयाँ प्रतिलिटर पुगेकोमा १७ वैशाखमा घटेर पेट्रोल २ सय १७ र डिजेल २ सय २५ रुपैयाँ भए पनि समग्र ढुवानी भाडा महँगो नै रह्यो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको भूराजनीतिक तनावले आपूर्ति शृङ्खलामा अवरोध सिर्जना गरेको छ। त्यस्तै, अमेरिकी डलरको विनिमय दरमा आएको २.१३ प्रतिशतको उतारचढावले आयातित वस्तुको मूल्य बढाएको छ। वैशाखमा अमेरिकी डलरको बिक्री दर १५२.१६ रुपैयाँसम्म पुग्दा त्यसको प्रत्यक्ष असर नेपाली बजार मूल्यमा परेको प्रतिवेदनको ठहर छ।

व्यवस्थापनका लागि बेमौसमी कृषि प्रणाली र नियमित बजार अनुगमनमा जोड

विभागले बजारको अस्थिरता व्यवस्थापन गर्न बेमौसमी कृषि प्रणाली विकास र उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएको छ। साथै, बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न प्रचलित कानुन अधीनमा रही नियमित र प्रभावकारी बजार अनुगमन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस