राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदै गर्दा महाधिवेशनमा सहभागी हजारौं प्रतिनिधिका लागि गरिएको भोजन व्यवस्थाले पनि चर्चा पाएको छ।
देशभरका जिल्ला, प्रवास तथा विभिन्न तहका कमिटीबाट आएका झण्डै ४१ सय प्रतिनिधिका लागि आज बिहानदेखि खानपानको व्यवस्था सुरु गरिएको हो। प्रतिनिधिहरूलाई बिहानको ब्रेकफास्ट, दिउँसोको खाना, हाइटी र बेलुकाको खानाको व्यवस्था गरिएको छ।
प्रतिनिधिहरूलाई बिहान खसीको मासु र भात खुवाइने भएको छ। यसका लागि मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासुको व्यवस्था गरिएको आयोजक पक्षले जनाएको छ। मासु नखाने प्रतिनिधिहरूका लागि पनिर, च्याउ तथा सिजनल तरकारीको छुट्टै व्यवस्था गरिएको छ।
बेलुकाको खानामा भने मिक्स भेज तरकारीसहित कम्तीमा १० प्रकारका परिकार समावेश गरिनेछन्। जिरा राइस, दाल, तरकारी, अचार, सलाद, दहीलगायतका आइटम पनि मेनुमा राखिएका छन्।
तीन दिनसम्मको भोजन व्यवस्थापनको जिम्मेवारी नारायणगढको दियालो फुडल्याण्डले लिएको छ। दियालो फुडल्याण्डका प्रवन्ध निर्देशक रमेश अधिकारीका अनुसार बिहान ७ बजेदेखि ब्रेकफास्ट, दिउँसो १ बजेदेखि २:३० बजेसम्म खाना, ३ बजेदेखि ५ बजेसम्म हाइटी तथा बेलुका ६ बजेदेखि ९ बजेसम्म डिनरको व्यवस्था गरिएको छ।
चितवनको गर्मीलाई ध्यानमा राखेर खाद्य सुरक्षामा विशेष सावधानी अपनाइएको अधिकारीले बताए। खाना तथा खाजाको व्यवस्थापनका लागि करिब २ सय कर्मचारी र कामदार परिचालन गरिएको छ।
महाधिवेशन स्थलमै खाना पकाएर झण्डै ५ हजार जनालाई लाइभ सर्भिसमार्फत भोजन गराइने व्यवस्था गरिएको छ। यसका लागि १५ वटा टेबल स्टल राखिएका छन्, जहाँ दुवैतर्फबाट खाना लिन सकिने व्यवस्था मिलाइएको छ।
प्रतिनिधिहरूलाई भोजनका लागि कुपन वितरण गरिएको छ। रास्वपाले प्रत्येक प्रतिनिधिबाट ५ हजार रुपैयाँ अधिवेशन शुल्क उठाएको छ भने आवास खर्च भने प्रतिनिधिहरूले आफैं व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।















