जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीको सामना गर्न नेपालले कार्बन व्यापारमार्फत उल्लेख्य आर्थिक लाभ आर्जन गर्न सफल भएको छ। हालसम्म, नेपालले यस व्यापारिक माध्यमबाट करिब ३ करोड ६० लाख अमेरिकी डलर, जुन वर्तमान विनिमय दरअनुसार ४ अर्ब ५८ करोड ४० लाख रुपैयाँ बराबर छ, आम्दानी गरेको छ। अर्थ मन्त्रालयका अनुसार, यो आय कार्बन व्यापारबाट प्राप्त भएको राजस्व हो।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जनाएअनुसार, यो आम्दानी बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त भएको हो। यसअघि पनि नेपालले कार्बन बिक्रीबाट करोडौं रुपैयाँ आर्जन गरेको इतिहास छ। वनजंगलको संरक्षण र वातावरणीय योगदानको मूल्यांकनस्वरूप प्राप्त यो आम्दानी मुलुकका लागि आर्थिक सम्भावनाको नयाँ र दिगो स्रोतको रूपमा पहिचान भएको छ।
विश्व बैंकबाट प्राप्त यो रकम सन् २०१८ देखि २०२४ सम्म तराईका १३ जिल्लामा सञ्चालित वन संरक्षण र कार्बन उत्सर्जन घटाउने तथा कार्बन सञ्चिति बढाउने प्रयासहरूको प्रतिफल हो। महत्वपूर्ण कुरा के छ भने, यो अनुदान नभई एक व्यापार हो। भौतिक वा अभौतिक वस्तुको परम्परागत विनिमयभन्दा भिन्न, यो एक ‘हावाको व्यापार’ हो। नेपालले वनजंगलको संरक्षण गरी कार्बन उत्सर्जनमा कमी ल्याई कार्बन सञ्चिति बढाएबापत विश्व बैंकको वन कार्बन साझेदारी सुविधा (Forest Carbon Partnership Facility – FCPF) कार्यक्रममार्फत यो रकम भुक्तानीको रूपमा प्राप्त गरेको छ। यस प्रक्रियालाई ‘कार्बन व्यापार’ भनिन्छ। विश्वभरि सुरु भएको यो वातावरणमा आधारित नयाँ व्यवसायमा लाभ पाउने मुलुकहरूमध्ये नेपालले दक्षिण एसियामा पहिलो स्थान हासिल गरेको छ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार, घरायसी बायोग्यास, सुधारिएको पानीघट्ट, लघु तथा साना जलविद्युत् परियोजनाहरूलगायत आठवटा आयोजना कार्बन बिक्रीका लागि दर्ता भएका छन्। सन् २००७ देखि २०२५ सम्मको अवधिमा यी आयोजनाहरूबाट कुल ६६ लाख ८८ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण प्रमाणित भएको छ।
नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा २८ अनुसार, कार्बन उत्सर्जन न्यूनीकरण र सञ्चितीकरणका लागि अन्तर्राष्ट्रिय सन्धि अन्तर्गत स्थापित संयन्त्र, विदेशी सरकार, संस्था, व्यावसायिक निकाय तथा निजी क्षेत्रसँग कार्बन व्यापारमा सहभागी हुने कानुनी आधार तयार गरेको छ। यस कानुनी व्यवस्थाको कार्यान्वयनसँगै नेपालले पछिल्ला वर्षहरूमा वैकल्पिक ऊर्जा तथा वातावरणमैत्री प्रविधिमार्फत कार्बन व्यापारबाट उल्लेखनीय आम्दानी गरिरहेको छ।













