काठमाडौं, ६ साउन । पोखरास्थित फिस्टेल एकेडेमीका अध्यक्ष चिनबहादुर रानाभाटमाथि भोटेकोशी हेली रिसोर्ट परियोजनासँग सम्बन्धित आर्थिक अनियमितताको आरोप सार्वजनिक भएको छ ।
पीडित लगानीकर्ताले परियोजनामा नक्कली बिल, कृत्रिम रूपमा बढाइएको लागत तथा आवश्यकताभन्दा बढी बैंक कर्जा परिचालनमार्फत ठूलो वित्तीय अनियमितता भएको दाबी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिनको माग गरेका छन् ।
पीडित पक्षका अनुसार परियोजनामा वास्तविक लगानीभन्दा फरक देखिने गरी करिब ३२ करोड रुपैयाँ बराबरको ‘फेक इक्विटी’ प्रस्तुत गरिएको, त्यसका आधारमा करिब ३८ करोड रुपैयाँ बैंक कर्जा लिइएको तथा परियोजनाको लागत करिब ९० करोड रुपैयाँ पुर्याएर वित्तीय विवरण तयार गरिएको आरोप छ ।
यस प्रक्रियाबाट केही लगानीकर्तालाई कृत्रिम रूपमा शेयरको मूल्य बढाएर आर्थिक क्षति पुर्याइएको दाबी गरिएको छ । आरोपमा फिस्टेल एकेडेमीको वित्तीय व्यवस्थापनसमेत जोडिएको छ ।
पीडित पक्षका अनुसार नबिल बैंकमार्फत विद्यालयमा आवश्यकताभन्दा बढी कर्जा प्रवाह ९ओभर फाइनान्सिङ० गरिएको र त्यसको असर विद्यार्थीमाथि चर्को शुल्कका रूपमा परेको हुन सक्ने भन्दै अभिभावक तथा सरोकारवालाले प्रश्न उठाएका छन् ।
उनीहरूले विद्यालयको वित्तीय पारदर्शिता, कर्जा व्यवस्थापन र शुल्क निर्धारण प्रक्रियाको समेत छानबिन हुनुपर्ने माग गरेका छन् । फिस्टेल एकेडेमी गण्डकी प्रदेशमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्याकालरेट कार्यक्रम सञ्चालन गर्ने विद्यालयका रूपमा परिचित छ ।
प्रतिष्ठित शैक्षिक संस्थाका अध्यक्षसँग सम्बन्धित आरोप सार्वजनिक भएपछि शैक्षिक तथा पर्यटन क्षेत्रमा यस विषयले व्यापक चासो पाएको छ ।
पीडित लगानीकर्ता तथा सरोकारवालाले नेपाल राष्ट्र बैंक, बैंकिङ सुपरिवेक्षण विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, शिक्षा मन्त्रालयलगायत सम्बन्धित नियामक निकायसँग घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषी देखिए कानुन बमोजिम कारबाही गर्न तथा पीडित लगानीकर्ताको हित संरक्षण गर्न माग गरेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन अध्यक्ष चिनबहादुर रानाभाटसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
















