प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि बोल्ने भएका छन्।
२०८३ वैशाख ३० गते बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री शाहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले २०८३ वैशाख २८ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सोही नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा औपचारिक छलफल सुरु हुन लागेको हो।
बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका संशोधन प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिनेछन्।
सम्भावित कार्यसूचीअनुसार छलफलका क्रममा सांसदहरूबाट प्राप्त सुझाव तथा संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। सभामुखले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह संसदमा औपचारिक रूपमा नीति तथा कार्यक्रममाथि बोल्न लागेकाले आजको बैठकलाई चासोका साथ हेरिएको छ। सरकारको आगामी वर्षको प्राथमिकता, विकास योजना, आर्थिक नीति, सुशासन, सेवा प्रवाह र जनजीविकासँग सम्बन्धित विषयमा प्रधानमन्त्री शाहले आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।











