नेपाली हवाई यातायात क्षेत्रको एक अग्रणी नाम, यती एयरलाइन्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूको लागि प्राथमिक सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
यस ऐतिहासिक आईपीओ निष्कासन प्रक्रियालाई सहजीकरण गर्नका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सुम्पिएको छ।आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा यती एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। यो सम्झौताले कम्पनीको सार्वजनिक निष्कासनतर्फको यात्रालाई औपचारिक रूप दिएको छ।
आन्तरिक हवाई सेवामा आफ्नो छुट्टै पहिचान बनाएको यती एयरलाइन्स नेपालका प्रतिष्ठित निजी हवाई सेवा प्रदायकहरूमध्ये अग्रपंक्तिमा पर्दछ। कम्पनीले आफ्नो सञ्चालनमा उच्च सुरक्षा मापदण्ड, विश्वसनीयता र सेवाको गुणस्तरमा निरन्तर जोड दिँदै आएको छ। यस प्रतिबद्धताका साथ, यती एयरलाइन्सले देशका प्रमुख शहरी केन्द्रहरूका साथै दुर्गम क्षेत्रहरूमा समेत नियमित र भरपर्दो उडान सेवा प्रदान गरिरहेको छ।
यति मात्र नभई, कम्पनीले नेपालको हवाई पहुँच विस्तारमा र विशेष गरी क्षेत्रीय कनेक्टिभिटीलाई सुदृढ बनाउनमा पनि उल्लेखनीय योगदान पुर्याएको छ। यस आईपीओ निष्कासनसँगै कम्पनीले आफ्नो विस्तार र विकासको नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ, जसले यस क्षेत्रको समग्र विकासमा थप टेवा पुग्नेछ।











