नेकपा एमालेका सांसद क्षितिज थेबेले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले बढ्दो महँगीका कारण अहिलेको पारिश्रमिकबाट श्रमिकलाई सामान्य जीवनयापन गर्नसमेत कठिन हुँदै गएको बताए। सांसद थेबेले श्रमिकको न्यूनतम तलब समयसापेक्ष पुनरावलोकन हुनुपर्ने भन्दै श्रमिकको श्रम, जीवनयापन खर्च र बजार मूल्यवृद्धिलाई आधार बनाएर पारिश्रमिक निर्धारण गर्नुपर्ने धारणा राखे। उनले श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित नगरी उत्पादन, सेवा क्षेत्र र रोजगारी बजार बलियो बन्न नसक्ने बताए।
उनले सामाजिक सुरक्षा कोषलाई थप प्रभावकारी र अनिवार्य बनाउनुपर्नेमा पनि जोड दिए। धेरै सेवा प्रदायक संस्था अझै पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन हिचकिचाइरहेको उल्लेख गर्दै उनले त्यस्ता संस्थालाई कोषमा ल्याउन कर छुट, सहुलियत तथा प्रोत्साहनका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए।
विशेषगरी महिला श्रमिकको सुरक्षालाई प्राथमिकतामा राखेर सामाजिक सुरक्षा कार्यक्रम व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो। कागजमा मात्र कार्यक्रम राखेर श्रमिकको समस्या समाधान नहुने भन्दै उनले श्रमिकले प्रत्यक्ष लाभ पाउने गरी नीति कार्यान्वयन हुनुपर्ने बताए।
सांसद थेबेले स्वदेशमै रोजगारी सिर्जना गर्न सीप विकासमा राज्यले लगानी बढाउनुपर्ने धारणा पनि राखे। नेपालमा अझै पनि कालिगड, हजामलगायत सीपयुक्त जनशक्ति बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको भन्दै उनले आफ्नै जनशक्तिलाई दक्ष बनाउने नीति आवश्यक रहेको बताए।
उनका अनुसार हरेक पालिका वा वडास्तरमै ‘क’ वर्गका बैंकमार्फत स्टार्टअप व्यवसायमा लगानी गर्ने वातावरण बनाइए युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न सकिन्छ। लगानी, सीप र रोजगारीलाई प्रभावकारी रूपमा जोड्न सके आगामी पाँच वर्षमा लाखौँ युवालाई स्वदेशमै रोजगारी दिन सकिने उनले दाबी गरे।
थेबेले प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता योजनालाई पनि थप परिणाममुखी बनाउनुपर्ने बताए। उनले युवालाई विदेश जान बाध्य पार्ने अवस्थाको अन्त्य गर्न सरकारले सीप, पूँजी र बजारसँग जोडिएको रोजगारी नीति अघि सार्नुपर्नेमा जोड दिए।









