सामाजिक सञ्जालमा नयाँ लगानीकर्ताहरूलाई लक्षित गरी “घरै बसीबसी ब्रोकर खाता खोलिदिने” भन्दै गरिएका विज्ञापनहरूले नयाँ किसिमको ठगीको जोखिम बढाएको छ। यी गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूले लगानीकर्ताको व्यक्तिगत विवरणको दुरुपयोग गरी ठगी मात्र नभई अन्य आपराधिक गतिविधिमा समेत प्रयोग गर्न सक्ने हुँदा लगानीकर्ताहरूलाई गम्भीर कानुनी झमेला आइपर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
शेयर बजारमा लगानी गर्न चाहने तर ब्रोकर कार्यालयसम्म पुग्न झन्झट मान्ने वा प्रक्रियाबारे जानकारी नभएका व्यक्तिहरू यस्ता आकर्षक विज्ञापनको सहजै शिकार बन्ने गरेका छन्। सामाजिक सञ्जालका विभिन्न फेसबुक पेज र आईडीहरूले ब्रोकर खाता, डिम्याट खाता र मेरोशेयर खाता एकैपटक खोलिदिने दाबी गर्दै उनीहरूलाई नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, हस्ताक्षर, र बैंक खातासम्बन्धी विवरण भाइबर, ह्वाट्सएप वा इमेलमार्फत पठाउन लगाउँछन्।
जान्नुपर्ने कुरा: लगानीकर्ताहरूले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने ब्रोकर खाता खोल्नु एक नि:शुल्क प्रक्रिया हो। यसका लागि कुनै पनि शुल्क तिर्नु पर्दैन। ब्रोकर कार्यालयमै गएर वा ब्रोकर कम्पनीले प्रदान गर्ने आधिकारिक अनलाइन प्रणालीमार्फत निःशुल्क रूपमा खाता खोल्न सकिन्छ। यस्तोमा कुनै पनि शुल्कको प्रलोभनमा परी अनाधिकृत व्यक्तिलाई आफ्नो व्यक्तिगत विवरण पठाउनु जोखिमपूर्ण हुन्छ।
यसरी संकलित व्यक्तिगत कागजातहरूलाई ती ठगहरूले ब्रोकर खाता खोल्नका लागि मात्र नभई अन्य गम्भीर अपराधमा समेत प्रयोग गर्न सक्ने धेरै सम्भावना रहेको छ।
ठगीका थप जोखिमहरू:
१. तपाईँको नाममा सिम कार्ड जारी: तपाईँको नागरिकताको प्रतिलिपि प्रयोग गरेर ठगहरूले सजिलै तपाईँको नाममा नयाँ सिम कार्ड निकाल्न सक्छन्। उक्त सिम कार्ड प्रयोग गरी उनीहरूले विभिन्न व्यक्तिलाई फोन गरेर ठगी गर्ने, धम्की दिने वा फिरौती माग्ने जस्ता आपराधिक क्रियाकलाप गर्न सक्छन्। यस्ता कार्यको अनुसन्धान हुँदा प्रहरीले सिम कार्ड धनीको रूपमा तपाईँलाई पक्राउ गर्न सक्छ, जसका कारण तपाईँले आफू निर्दोष साबित गर्न लामो कानुनी प्रक्रियामा फस्नुपर्ने हुन्छ।
२. बैंक खाता र वालेटको दुरुपयोग: तपाईँले पठाएका बैंक खाता विवरण र नागरिकताको प्रतिलिपि प्रयोग गरी ठगहरूले तपाईँको नाममा नयाँ बैंक खाता वा डिजिटल वालेट (जस्तै: इसेवा, खल्ती) खोल्न सक्छन्। यी खाताहरूलाई उनीहरूले ठगीको पैसा जम्मा गर्ने वा अन्य गैरकानुनी कारोबारका लागि प्रयोग गर्न सक्छन्। यस्ता खाताबाट भएका गैरकानुनी कारोबारको अनुसन्धान हुँदा त्यसको कानुनी दायित्व तपाईँमाथि आउँछ।
३. आर्थिक ठगी र ह्याकिङ: तपाईंले आफ्नो बैंक खाताको विवरण दिएको खण्डमा तपाईंको खाता ह्याक गरी रकम चोरी हुने जोखिम उच्च रहन्छ। त्यस्तै, तपाईंको कागजातको प्रयोग गरी तपाईंको बैंकबाट ऋण लिने प्रयास समेत हुन सक्छ।
कानुनी जोखिम र सजाय: नेपालको कानुनअनुसार, कुनै पनि व्यक्तिको कागजातको दुरुपयोग गरी गैरकानुनी काम गर्नु वा गर्न लगाउनु अपराध मानिन्छ। विद्युतीय कारोबार ऐन, २०६३ र मुलुकी अपराध संहिता, २०७४ अनुसार यस्ता कार्यमा संलग्न व्यक्तिलाई ठगी, जालसाजी र साइबर अपराधको कसुरमा जेल सजाय र जरिवाना हुन सक्छ। यदि तपाईँको कागजात प्रयोग गरेर कुनै आपराधिक घटना भयो भने तपाईँ प्रत्यक्ष संलग्न नभए पनि कानुनी रूपमा जवाफदेही हुनुपर्ने हुन्छ।
सम्बन्धित निकायको भूमिकामा प्रश्न: नेपाल धितोपत्र बोर्ड (SEBON) ले ब्रोकर कम्पनीहरूलाई नियमन गर्ने र लगानीकर्ताको हितको रक्षा गर्ने प्रमुख जिम्मेवारी बोकेको हुन्छ। तर, सामाजिक सञ्जालमा यस्ता गैरकानुनी गतिविधिहरू खुलेआम हुँदा पनि बोर्ड मौन रहेको र प्रभावकारी कदम नचालेको भन्दै लगानीकर्ताहरूले प्रश्न उठाउन थालेका छन्। बोर्डले तत्काल यस्ता गतिविधिमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने र लगानीकर्ताहरूलाई यस्ता ठगीबाट बच्नका लागि जनचेतना फैलाउनुपर्ने आवश्यकता देखिएको छ।
यसबाट बच्न के गर्ने ?
आधिकारिक माध्यम प्रयोग गर्नुहोस्: ब्रोकर खाता खोल्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ब्रोकर कम्पनीको कार्यालयमा नै गएर वा उनीहरूको आधिकारिक र सुरक्षित अनलाइन प्रणालीबाट मात्रै आवेदन दिनुहोस्।
व्यक्तिगत विवरण गोप्य राख्नुहोस्: आफ्नो नागरिकता, बैंक खाता, हस्ताक्षर, र अन्य व्यक्तिगत विवरणहरू अपरिचित व्यक्ति वा सामाजिक सञ्जालका पेजहरूलाई कुनै पनि हालतमा नपठाउनुहोस्।
सचेत रहनुहोस्: अनलाइनमा सजिलै ब्रोकर खाता खोलिदिने वा आकर्षक प्रतिफल दिने भनी आउने प्रलोभनहरूलाई विश्वास नगर्नुहोस्। यस्ता पोस्ट वा गतिविधिहरू देखिएमा नेपाल प्रहरीको साइबर ब्युरोमा खबर गर्नुहोस्।












