धरान उपमहानगरले आइतबार सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घर डोजर लगाएर भत्काएको छ।
उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर बनाइएको घरमा उपमहानगरले डोजर लगाएको हो। उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन सूचना दिएको भएतापनि राजनीतिक आडमा जमिन मिचेको भन्दै घर भत्काइएको कार्यालयको भनाइ छ। नगरको डोजर आउने सूचना पाएपछि धरान ५ का पूर्व वडाध्यक्ष सन्तोष लिम्बू संगै स्थानीयबासी घरको सुरक्षार्थ भेला भएका थिए।
उनीहरुले लामो समयदेखि भोगचलन गरिरहेको जमिनमा घर बनाएको भन्दै भत्काउन नहुने अडान लिएका थिए। उपमहानगरले डोजर लगाउने क्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडप हुदा ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएका छन् ।
उपमहानगरले घर नबनाउन पत्राचार गरेपछि घरधनी मुनाले वडा कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन्। तर उनको रिटमा अदालतले अन्तरिम आदेश दिएन।
‘घरबार नभएकाहरुको बासस्थान उठाउँदिनँ भन्ने पूर्व प्रतिबद्धता मेयरले भुलेर घर भत्काउन लगाएका छन्, यो आपत्तिजनक छ’, स्थानीयबासीले भने , ‘मेयरले यसबारे जवाफ दिनुपर्छ।’
















