काठमाडौं, ०८ असार । मध्यपूर्वमा भू–राजनीतिक तनाव कायम रहे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार घटेको छ। आपूर्ति बढ्ने अपेक्षा र बजारको सतर्क प्रतिक्रियाबीच ब्रेन्ट तथा डब्लूटीआई दुवै प्रकारका कच्चा तेलको मूल्य ओरालो लागेको हो।
सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको छ। कारोबारका क्रममा ब्रेन्ट क्रुडको मूल्य १.६४ प्रतिशतले घटेर प्रतिब्यारेल ७९.२५ अमेरिकी डलरमा पुगेको छ। दिनको सुरुआती कारोबारमा भने ब्रेन्टको मूल्य ८२.३० डलरसम्म पुगेको थियो।
त्यसैगरी, डब्लूटीआई (वेस्ट टेक्सास इन्टरमिडियट) क्रुडको मूल्य पनि ०.४४ प्रतिशतले घटेर प्रतिब्यारेल ७५.५२ डलरमा सीमित भएको छ।
यसबीच इरानले हर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेपछि विश्व ऊर्जा बजारमा चिन्ता बढेको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने उक्त समुद्री मार्गमा जहाज आवागमन प्रभावित भएको बताइएको छ, जसले आपूर्ति शृंखलामा दबाब सिर्जना गर्ने आशंका बढाएको छ।
अमेरिका र इरानबीच जारी अस्थायी शान्ति प्रक्रियाअन्तर्गत भएको वार्ता पनि अपेक्षाअनुसार अघि बढ्न नसकेको जनाइएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी अधिकारीबीच छलफल भए पनि दुवै पक्षबीचको तनाव कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे पुनः सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन्।
यद्यपि पछिल्ला दिनमा प्रमुख उत्पादक राष्ट्रहरूले तेल उत्पादन बढाउने संकेत दिएपछि बजारमा आपूर्ति सुधार हुने अपेक्षा बढेको छ। विशेषगरी इराकसहित केही उत्पादक देशको उत्पादन विस्तार योजनाले मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ। यही कारण पछिल्लो एक सातामा कच्चा तेलको मूल्य करिब ८ प्रतिशतले घटेको देखिएको छ।
















