पसलमा सामान किनेपछि मोबाइल निकालेर QR स्क्यान गर्नुहुन्छ? अब त्यो भुक्तानी सामानको पैसा तिर्ने माध्यम मात्रै नभई सरकारको नगद उपहार जित्ने अवसरसमेत बन्न सक्छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ QR बाट पैसा तिर्दैमा हरेक कारोबार सरकारी उपहार कार्यक्रममा स्वतः सहभागी हुँदैन।
सरकारले सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहभागी हुने सबैभन्दा सहज माध्यममध्ये मर्चेन्ट QR मार्फत गरिने विद्युतीय भुक्तानी हो। सही विवरण भएको व्यवसायको Merchant QR मा योग्य कारोबार गर्दा त्यसको विवरण प्रणालीमा पुगेर उपहारका लागि टिकट अर्थात् कुपन बन्न सक्छ।
आन्तरिक राजस्व विभागको कार्यविधिअनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन योग्य हुन्छन्। भुक्तानी सेवा प्रदायकमार्फत भएको योग्य विद्युतीय कारोबार स्वतः कार्यक्रममा समावेश गर्ने व्यवस्था गरिएको छ।
तर तपाईंले स्क्यान गरेको QR ‘Merchant QR’ नै हो?
यही ठाउँमा धेरै उपभोक्ता झुक्किन सक्छन्। पसलको काउन्टरमा QR राखिएको छ भन्दैमा त्यो व्यवसायको आधिकारिक Merchant QR नै हुन्छ भन्ने निश्चित हुँदैन। कतिपय अवस्थामा व्यवसायीले आफ्नो व्यक्तिगत बैंक खाता वा व्यक्तिगत डिजिटल वालेटको QR समेत रकम लिन प्रयोग गरिरहेका हुन सक्छन्। Merchant QR र व्यक्तिगत QR बीचको फरक छुट्याउनु त्यसैले महत्त्वपूर्ण हुन्छ।
मोबाइल बैंकिङ वा डिजिटल वालेटबाट QR स्क्यान गरेपछि भुक्तानी गर्नुअघि देखिने विवरण ध्यानपूर्वक हेर्नुहोस्। स्क्रिनमा Merchant Name, Merchant Payment वा त्यससँग मिल्दोजुल्दो विवरणसँगै पसल, कम्पनी वा फर्मको आधिकारिक नाम देखिएको छ भने त्यो व्यवसायका लागि जारी गरिएको Merchant QR हुने सम्भावना बढी हुन्छ।
फोनपेले Merchant QR लिन दर्ता भएको व्यवसाय वा व्यावसायिक संस्था, सक्रिय बैंक खाता तथा PAN/VAT लगायतका व्यावसायिक कागजात आवश्यक पर्ने जनाएको छ। तर व्यक्तिगत खातामा पैसा पठाउँदा व्यक्तिको नाम वा व्यक्तिगत transfer सम्बन्धी विवरण देखिन सक्छ। त्यसैले ‘QR छ, पैसा तिरेँ, अब कुपन आइहाल्छ’ भन्ने सोच सुरक्षित होइन।
तपाइँ पैसा तिर्ने बेला QR मा यो तलको लोगो छ वा छैन भन्ने यकिन गर्नु होला।

सबैभन्दा महत्त्वपूर्ण कुरा : व्यवसायको PAN
सरकारी उपहार कार्यक्रमको केन्द्रमा केवल डिजिटल भुक्तानी होइन, कर प्रणालीसँग जोडिएको वैध कारोबार छ। IRD को कार्यविधिले स्थायी लेखा नम्बर (PAN) नलिएका व्यक्तिबाट गरिएको खरिदको बिजकलाई कार्यक्रममा सहभागी हुन अयोग्य हुने सूचीमा राखेको छ। व्यावसायिक प्रयोजनका खरिद, सरकारी वा सार्वजनिक संस्थाका नाममा जारी बिजक तथा कार्यविधिमा तोकिएका केही सेवा क्षेत्रका बिलसमेत कार्यक्रममा समावेश हुँदैनन्।
त्यसैले उपभोक्ताका लागि सुरक्षित अभ्यास भनेको Merchant QR मा भुक्तानी गर्नुका साथै PAN वा VAT सहितको आधिकारिक बिल माग्नु हो। Merchant QR मा भुक्तानी सफल भएको देखिए पनि कारोबारको आवश्यक व्यावसायिक विवरण प्रणालीसँग ठीकसँग नजोडिएको अवस्थामा कुपन नदेखिन सक्छ। यस्तो अवस्थामा बिल भने तपाईंको सबैभन्दा महत्त्वपूर्ण प्रमाण बन्छ।

यस्तो बिल दिएमा नलिनु होला यस्तो बिलले काम गर्दैन।
QR तिरेपछि पनि कुपन आएन भने के गर्ने?
QR बाट भुक्तानी गरेपछि कुपन नदेखिएको अवस्थामा ‘म पैसा तिरेँ, त्यसैले स्वतः सहभागी भएँ’ भनेर ढुक्क बस्नु उपयुक्त हुँदैन। पहिले आफूले भुक्तानी गरेको स्थानको बिल सुरक्षित राख्नुहोस् र बिलमा व्यवसायको नाम तथा PAN/VAT विवरण जाँच्नुहोस्। योग्य कारोबार स्वतः प्रणालीमा नआएको अवस्थामा उपभोक्ताले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार पोर्टलमार्फत बिलको विवरण दर्ता गर्न सक्छन्।
कार्यविधिअनुसार म्यानुअल रूपमा विवरण प्रविष्ट गर्दा बिजक नम्बर, विक्रेताको स्थायी लेखा नम्बर, बिजक जारी भएको मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको विवरण तथा मोबाइल नम्बरसहितका जानकारी आवश्यक पर्न सक्छन्। प्रणालीले प्रमाणीकरण गरेपछि योग्य बिल कार्यक्रममा समावेश हुन्छ।
यसको अर्थ QR बाट भुक्तानी गर्नु सहज बाटो हो, तर बिल लिनु अझै अनिवार्यजस्तै महत्त्वपूर्ण सुरक्षा हो।
पैसा तिरेपछि बिल फाल्ने गल्ती नगर्नुहोस्
कुपन बनेपछि बिलको काम सकियो भन्ने पनि होइन। तपाईं विजेता बन्नुभयो भने पुरस्कार दाबी गर्दा सक्कल बिजक आवश्यक पर्छ। IRD को कार्यविधिअनुसार विजेताले पुरस्कार घोषणा भएको निश्चित अवधिभित्र परिचयपत्र, बैंक खाताको विवरण, स्थायी लेखा नम्बर र सक्कल बिजकसहित सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाबी पेस गर्नुपर्ने व्यवस्था छ।
पुरस्कार रकममा आकस्मिक लाभबापत प्रचलित कानुनअनुसार कर कट्टी हुने व्यवस्था पनि कार्यविधिमा छ। तोकिएको अवधिमा आवश्यक कागजातसहित पुरस्कार दाबी नगरे पुरस्कार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने व्यवस्था गरिएको छ। त्यसैले पसलबाट निस्कँदा दुईवटा कुरा जाँच्ने बानी उपयोगी हुन्छ—भुक्तानी सही Merchant QR मा भयो कि भएन र आधिकारिक PAN/VAT बिल हातमा छ कि छैन।
कुन कारोबार कार्यक्रममा नपर्न सक्छन्?
कार्यविधिले हरेक किसिमको खर्चलाई उपहार योजनामा समेटेको छैन। व्यावसायिक प्रयोजनका लागि गरिएको खरिद, सरकारी वा सार्वजनिक संस्थाको नाममा जारी बिजक, PAN नलिएका व्यक्तिबाट गरिएको खरिद तथा दूरसञ्चार, इन्टरनेट, विद्युत्, सार्वजनिक यातायात र हवाई टिकटलगायत कार्यविधिमा उल्लेखित केही कारोबार कार्यक्रममा सहभागी हुन योग्य हुँदैनन्। एउटै बिजक वा एउटै विद्युतीय भुक्तानीबाट एक पटकभन्दा बढी सहभागिता जनाउन पनि पाइँदैन। त्यसैले उपहार जित्ने उद्देश्यले एउटै कारोबार पटक-पटक दर्ता गर्ने प्रयास गर्नुको अर्थ हुँदैन।
१ र १६ गते किन महत्त्वपूर्ण?
कार्यविधिले विजेता छनोटलाई पाक्षिक चक्रसँग जोडेको छ। विभागले प्रत्येक महिनाको १ गते र १६ गते विजेता छनोट गर्ने व्यवस्था गरेको छ। प्रणालीमा समावेश योग्य कारोबारमध्येबाट स्वचालित प्रणाली प्रयोग गरी दैनिकतर्फका विजेता र पाक्षिक बम्पर विजेता छनोट हुने व्यवस्था छ।
बम्पर विजेताले १० लाख रुपैयाँसम्मको पुरस्कार पाउने व्यवस्था छ। नियमित विजेताका लागि पनि नगद पुरस्कार तोकिएको छ र पुरस्कार रकमबाट कानुनअनुसार कर कट्टी हुन्छ।
उपभोक्ताले आजैदेखि अपनाउनुपर्ने बानी
सरकारी उपहार कार्यक्रममा सहभागी हुन कुनै छुट्टै सामान किन्नुपर्ने वा अतिरिक्त पैसा तिर्नुपर्ने होइन। दैनिक जीवनमा गरिने योग्य किनमेललाई सही तरिकाले अभिलेखमा ल्याउनु मुख्य कुरा हो। पसलमा पुगेपछि QR देख्नेबित्तिकै पैसा पठाउनुको सट्टा स्क्यान गरेपछि देखिएको Merchant Name जाँच्नुहोस्। सम्भव भएसम्म व्यवसायको आधिकारिक Merchant QR बाट डिजिटल भुक्तानी गर्नुहोस्। त्यसपछि PAN वा VAT उल्लेख भएको बिल अनिवार्य लिनुहोस् र कम्तीमा पुरस्कार घोषणा तथा दाबी अवधि नसकिएसम्म सुरक्षित राख्नुहोस्।














