रमेशले सानैदेखि बुबाका हातहरू विश्राममा देखेको सम्झन सक्दैनथ्यो। कहिले ती हातले कोदालो समाउँथे, कहिले हँसिया, कहिले नाम्लोको डोरीले निधारसम्म तानिएको घाँसको भारी थाम्थे। वर्षाले खेत हिलो बनाउँदा ती हात माटोसँग मिसिन्थे, हिउँदको चिसोले छाला चिरिँदा पनि काम रोकिँदैनथ्यो। घरमा अभाव धेरै थिए, तर बुबाले एउटा कुरालाई अभावको भाग बन्न कहिल्यै दिएनन्, रमेशको पढाइ।
गाउँको विद्यालयबाट एसईई सकेपछि रमेशले काठमाडौं गएर पढ्ने इच्छा सुनाएको दिन बुबा केही बेर मौन बसेका थिए। घरको आर्थिक अवस्था काठमाडौं पठाउन सक्ने खालको थिएन। त्यो कुरा रमेशलाई पनि थाहा थियो।
तर केही दिनपछि बुबाले आफैँ भने, “तँ पढ्न जा बाबु। खर्चको चिन्ता नगर। हामीले अलि कम खाउँला, अलि बढी काम गरौँला, तर पैसाको अभावले तेरो पढाइ रोकिन दिन्नँ।”
रमेशले त्यस दिन पहिलोपटक महसुस गरेको थियो, आमाबुबाले छोराछोरीलाई दिने सबैभन्दा ठूलो कुरा पैसा नहुन सक्छ। कहिलेकाहीँ आफ्नै जीवनलाई अलि साँघुरो बनाएर सन्तानको बाटो फराकिलो बनाइदिनु पनि सम्पत्ति नै रहेछ।
काठमाडौं जाने दिन बुबाले बस चढ्नुअघि उसको काँध समातेर भनेका थिए,
“तँ फर्केर यही दुःख बोक्नुपरोस् भनेर मैले तँलाई सहर पठाएको होइन बाबु। हामी यहाँ जसोतसो चलाउँछौँ, तँ आफ्नो भविष्य बनाउनेतिर लाग्।”
बस अघि बढ्दा रमेशले झ्यालबाट बुबालाई हेरिरह्यो। बुबा सानो हुँदै गए। गाउँका घरहरू साना हुँदै गए। पहाड टाढिँदै गयो। तर त्यो वाक्य उसँगै काठमाडौं आइपुग्यो।
काठमाडौं रमेशले कल्पना गरेको जस्तो थिएन। सहरले उसलाई पहिलो दिनमै स्वागत गरेन। एउटा साँघुरो कोठा, दुई जना साथी, साझा बाथरुम, कलेजको शुल्क, खाना, गाडीभाडा र प्रत्येक महिनाको हिसाब। घरबाट पैसा पठाउन ढिलो हुँदा उसले बुबालाई फोन गर्न हिचकिचाउँथ्यो। किनकि फोन गर्दा उताबाट आउने आवाजमा पनि घरको अवस्था सुनिन्थ्यो।
“अलिकति ढिलो होला बाबु, दूधको पैसा आउन बाँकी छ।” “हुन्छ बुबा, मसँग छ।” रमेशले भन्थ्यो।
धेरैपटक ऊसँग हुँदैनथ्यो। तर अभावमा हुर्केको मानिसले पैसा नहुँदा सबैभन्दा पहिले झुट बोल्न सिक्दैन। उसले अरूलाई चिन्ता नदिन सिक्छ। त्यसैले रमेशले काठमाडौंमा खर्च घटाउन सिक्यो। हिँड्न मिल्ने ठाउँमा गाडी चढेन। कलेजको क्यान्टिनभन्दा कोठामा पकाएर खायो। उसेको एउटै लक्ष्य थियो। पढाइ सक्ने। काम गर्ने। घरको अवस्था बदल्ने।
एकदिन कलेजको खाली समयमा उसको साथी सुमन मोबाइलमा केही हेर्दै थियो।
अचानक ऊ खुसी हुँदै बोल्यो, “पर्यो!”
रमेशले सोध्यो,
“के पर्यो?” “आईपीओ।”
रमेशले खासै चासो नदिई फेरि किताबतिर आँखा लगायो।
सुमनले भन्यो ,
“दस कित्ता शेयर।”
“कति पैसा हालिस्?”
“हजार।”
“अनि?”
“अब लिस्ट भएपछि हेरौँ।”
त्यो कुराकानी त्यहीँ सकियो। रमेशले पनि भोलिपल्ट बिर्सियो। तर केही महिनापछि त्यही सुमनले चिया खुवाउँदै मोबाइलमा आफ्नो शेयरको मूल्य देखायो। हजार रुपैयाँको लगानी धेरै बढिसकेको थियो। रमेशले पहिलोपटक ध्यान दिएर सोध्यो,
“यस्तो पनि हुन्छ?”
“हुन्छ। तर हरेकचोटि हुँदैन।”
त्यो अन्तिम वाक्य सुमनले स्पष्टै भनेको थियो। तर मानिसको मनलाई सावधानीभन्दा सम्भावनाले छिटो आकर्षित गर्छ। रमेशले डिम्याट खोल्यो। मेरो शेयर चलाउन सिक्यो। पहिलो आईपीओ भर्यो। परेन। दोस्रो भर्यो। त्यो पनि परेन। तेस्रोपटक दस कित्ता पर्यो। सुमनलाई भन्दा बढी खुसी रमेश भयो।
हजार रुपैयाँ ठूलो रकम थिएन। तर विद्यार्थी जीवनमा त्यसको आफ्नै अर्थ थियो। उसले त्यो रकम केही समयअघि होटलमा पार्ट टाइम काम गरेर जोगाएको थियो।
शेयर सूचीकरण भयो। मूल्य बढ्यो। रमेश दिनहुँ हेर्दैनथ्यो। तर कहिलेकाहीँ खोल्दा रकम पहिलेभन्दा ठूलो देखिन्थ्यो। एक साँझ उसले बुबालाई फोन गर्यो। सामान्य कुरा भएपछि रमेशले भन्यो,
“बुबा, मैले एउटा कम्पनीमा हजार रुपैयाँ लगाएको थिएँ।”
“कम्पनीमा?”
“शेयर किनेको।”
उताबाट केही क्षण चुप्पी रह्यो।
“त्यो के हो मलाई थाहा छैन बाबु। बुझेर गर।”
बुबाको यत्ति प्रतिक्रिया आयो। रमेशले सम्झाउन खोज्यो। तर उसलाई पनि त्यतिबेला शेयर बजार पूरै थाहा कहाँ थियो र?
त्यसैले अन्ततः भन्यो,
“पैसा बढेको छ।”
बुबा हाँसे।
“बढेको छ भने राम्रो। तर पढाइ घट्न नदिनू।”
फोन काटिएपछि रमेश पनि हाँस्यो। शेयर बजारसँग उसको पहिलो सम्बन्ध यति सामान्य थियो। न कुनै लोभ। न कुनै ठूलो सपना। न करोडपति बन्ने कल्पना। तर जीवनमा धेरै दुर्घटना अचानक सुरु हुँदैनन्। ती साना सफलताको भेषमा आउँछन्। रमेशले अर्को आईपीओ भर्यो। त्यो पनि पर्यो। त्यसबाट पनि राम्रो नाफा देखियो। उसलाई लाग्न थाल्यो, पैसा कमाउने संसार बुबाले देखेको संसारभन्दा धेरै ठूलो रहेछ। बुबाले हजार रुपैयाँ कमाउन कति लिटर दूध बेच्नुपर्छ? कति दिन खेतमा पसिना बगाउनुपर्छ?
उता मोबाइलको एउटा अंक केही दिनमै हजारले बढिरहेको थियो। यही तुलना बिस्तारै रमेशको सोचमा प्रवेश गर्न थाल्यो। उसले अझै बुबाको श्रमलाई सानो ठानेको थिएन। तर पैसालाई श्रमसँग जोडेर हेर्ने उसको पुरानो विश्वास कमजोर हुँदै गइरहेको थियो। एक साँझ सुमनले भन्यो,
“आईपीओ त प्रवेशद्वार मात्रै हो। असली बजार सेकेन्डरी हो।”
रमेशले डराउँदै सोध्यो,
“त्यहाँ पैसा डुब्छ पनि होइन?”
“डुब्छ। बुझेनौ भने।”
यो वाक्य रमेशलाई चुनौतीजस्तो लाग्यो। उसले बजारबारे पढ्न थाल्यो। कम्पनीको नाम। प्राइस। भोल्युम। पीई। ईपीएस। बुक भ्यालु। उसले सबै कुरा एकैपटक बुझेन। तर जति बुझ्यो, आफू अरूभन्दा केही बढी बुझ्न थालेको अनुभूति भयो। यही अनुभूति पछि उसको सबैभन्दा महँगो भ्रम बन्ने थियो। उसले थोरै रकमबाट सेकेन्डरी बजारमा पहिलो शेयर किन्यो। केही दिनमै मूल्य बढ्यो। बेच्यो। नाफा भयो। अर्को शेयर किन्यो। त्यो पनि बढ्यो।
पहिले एक हजार नाफा हुँदा खुसी हुने रमेश पाँच हजार नाफा हुँदा सामान्य हुन थाल्यो। बजार लगातार माथि जाँदै थियो। उसलाई त्यो बजारको शक्ति हो भन्ने बुझाइभन्दा आफूले सही शेयर छानेको प्रमाणजस्तो लाग्न थाल्यो। रमेशले एउटा गम्भीर कुरा त्यतिबेला बुझेन।
बढिरहेको बजारले धेरै मानिसलाई आफू प्रतिभाशाली भएको भ्रम दिन्छ।
कलेज सकिन लाग्दा शेयर बजार देशभरि चर्चाको विषय बनिसकेको थियो। चिया पसलमा बजारको कुरा। फेसबुक समूहमा बजारको कुरा। युट्युबमा बजारको कुरा। कलेजका साथीहरूबीच बजारको कुरा। कतै कसैले पाँच लाखलाई पन्ध्र लाख बनाएको कथा सुनाउँथ्यो। कतै अर्कोले केही महिनामै मोटरसाइकल किनेको फोटो राख्थ्यो। कसैले लेखेको हुन्थ्यो,
“जागिर गरेर धनी हुने सपना नदेख्नुस्।”
अर्को पोस्टमा लेखिएको हुन्थ्यो,
“ठूलो पैसा कमाउन ठूलो निर्णय गर्नुपर्छ।”
रमेश पहिले यस्ता कुरा पढेर अगाडि बढ्थ्यो। बिस्तारै रोकिएर पढ्न थाल्यो। त्यसपछि विश्वास गर्न थाल्यो। मानिस अरूको सफलता देखेर केवल ईर्ष्या गर्दैन। कहिलेकाहीँ उसले आफ्नो जीवन ढिलो भइरहेको अनुभूति गर्न थाल्छ। रमेशलाई पनि त्यस्तै भयो। कलेज सकियो। हातमा प्रमाणपत्र आयो। साथीहरू विभिन्न दिशामा गए। कसैले विदेशको प्रक्रिया सुरु गर्यो। कसैले जागिर खोज्यो। कसैले लोकसेवा पढ्न थाल्यो। रमेश गाउँ फर्कियो।
धेरै समयपछि घरको आँगनमा उभिँदा उसले गाउँलाई पहिलेको जस्तो देखेन। गाउँ त्यही थियो। बदलिएको ऊ थियो।
घरको भित्ताको प्लास्टर केही ठाउँबाट झरेको थियो। आमाको अनुहारमा पहिलाभन्दा धेरै रेखा थिए। बुबाको कपाल सेतै भइसकेको थियो। एक बिहान रमेश निद्राबाट उठ्दा बुबा घरमा थिएनन्।
आमाले भनिन्,
“घाँस लिन गएका।”
घडीमा बिहान छ पनि बजेको थिएन। केही समयपछि बुबा ठूलो भारी बोकेर उकालो चढ्दै आए। रमेश बरन्डाबाट हेरिरह्यो। नाम्लो निधारमा थियो। शरीर पसिनाले भिजेको थियो। भारी बिसाएपछि बुबाले ढाड सीधा गर्न केही समय लगाए। त्यही दृश्यले रमेशलाई असहज बनायो। बाल्यकालमा उसलाई बुबा कहिल्यै बूढा हुँदैनन् जस्तो लाग्थ्यो। त्यस बिहान पहिलोपटक उसले आफ्ना बुबामा उमेर देख्यो। उसको मनभित्र एउटा हतार जन्मियो।
अब केही गर्नुपर्छ। त्यो हतार गलत थिएन। तर हतारले रोजेको बाटो गलत हुन सक्थ्यो। घरमा छ वटा भैँसी थिए। ती केवल पशु थिएनन्। परिवारको नियमित आम्दानी थिए। बुबाले वर्षौँ लगाएर एउटा थप्दै, अर्को पाल्दै गोठ भराएका थिए। कुनै भैँसी बिरामी हुँदा रातभरि उठेर हेरेका थिए। कुनै ब्याउँदा बुबाको अनुहार आफ्नै घरमा बच्चा जन्मिएजस्तो उज्यालो हुन्थ्यो। रमेशले सुरुमा तिनलाई बेच्ने सोचेकै थिएन। एक रात मोबाइल चलाउँदै गर्दा उसले एउटा भिडियो देख्यो।
शीर्षक थियो,
“अबको बुलले जीवन बदल्न सक्छ।”
उसले भिडियो खोल्यो। भित्र निकै आत्मविश्वासका साथ बोल्ने एक व्यक्ति थिए। उनले अघिल्ला बजार चक्रका उदाहरण देखाए। कुन शेयर कति गुणा भएको थियो भन्ने हिसाब देखाए। अन्त्यमा एउटा वाक्य भने,
“अवसर सबैको अगाडि आउँछ। ठूलो बन्ने मानिसले त्यसलाई चिन्छ, अरूले डराएर हेर्छन्।”
रमेशले भिडियो बन्द गर्यो। तर त्यो वाक्य बन्द भएन। रातभरि उसलाई पछ्याइरह्यो। भोलिपल्ट अर्को पोस्ट देख्यो। फेरि अर्को भिडियो। फेरि साथीको फोन।
“अहिले क्यास लिएर बस्ने समय होइन यार। यस्तो बुल फेरि कहिले आउँछ थाहा छैन।”
रमेशको मनमा एउटा हिसाब सुरु भयो। छ वटा भैँसी बेच्दा आउने रकम। त्यही रकम बजारमा हाल्दा यदि शेयर दुई गुणा भयो भने? तीन गुणा भयो भने? घर मर्मत गर्न सकिन्छ। बुबालाई मोटरसाइकल किनिदिन सकिन्छ। अर्को राम्रो गोठ बनाउन सकिन्छ। थप जग्गा किन्न सकिन्छ। र केही वर्षभित्र बुबाले काम गर्नै नपर्ने अवस्था बनाउन सकिन्छ। लोभ धेरैपटक कुरूप अनुहार लिएर आउँदैन। कहिलेकाहीँ त्यो आफ्ना आमाबुबालाई सुख दिने सुन्दर सपनाको रूप लिएर आउँछ। रमेशको लोभ पनि त्यस्तै थियो। त्यस रात उसले बुबालाई कुरा सुनायो।
“बुबा, एउटा कुरा भनौ ?”
“भन ।”
“हामीसँग भएका भैँसी बेच्दा कति पैसा आउला?”
बुबाले छोरातिर हेरे।
“किन?”
“यत्तिकै सोधेको।”
बुबाले अनुमानित रकम बताए। रमेश केही बेर मौन रह्यो। त्यसपछि भन्यो,
“त्यो पैसा शेयरमा लगायौँ भने?”
बुबाको अनुहार फेरियो।
“सबै?”
“हो।”
“किन सबै?”
रमेश उत्साहित हुँदै बुझाउन थाल्यो।
“अहिले बजार राम्रो छ। मैले पनि कमाएको छु। मेरो साथीहरूले पनि कमाइरहेका छन्। हामी यति दुःख गरेर वर्षभरि जति कमाउँछौँ, बजारमा राम्रो अवसर समात्न सकियो भने धेरै छिटो कमाउन सकिन्छ।”
बुबा सुनिरहे।
“भैँसी बेच्यौँ भने दूधको आम्दानी बन्द हुन्छ,” उनले भने।
रमेश तयार थियो।
“केही समयका लागि मात्रै त हो। नाफा भएपछि फेरि अझ राम्रा भैँसी किनौँला।”
बुबाले तत्काल उत्तर दिएनन्। रमेशले त्यस रात धेरै कुरा गर्यो। बजारको। आफूले गरेको नाफाको। कम्पनीको। भविष्यको। अन्त्यमा उसले बुबाको आँखामा हेरेर भन्यो,
“कति वर्ष यसरी दुःख गर्नुहुन्छ बुबा?”
बुबा चुप लागे। रमेशको स्वर नरम भयो।
“अब मेरो पालो हो। तपाईंले मलाई पढाउनुभयो। अब तपाईंलाई आराम गराउने जिम्मा मेरो।”
केही क्षणपछि उसले मुस्कुराउँदै थप्यो,
“अब हाम्रा दुःखका दिन धेरै छैनन् बुबा। हेर्नुस्, हामी पनि चाँडै माथि उठ्छौँ।”
बुबाले छोरालाई धेरैबेर हेरिरहे। उनलाई शेयर बजार थाहा थिएन। तर छोरामाथि विश्वास थियो। सायद त्यही विश्वासले अन्ततः निर्णय गर्यो। केही दिनपछि पहिलो भैँसी बेचियो। त्यसपछि दोस्रो। एक एक गर्दै छ वटै गए। अन्तिम भैँसी लैजाँदा बुबा गोठको ढोकामा उभिएका थिए। व्यापारीले डोरी समातेर सडकतिर लग्यो। बुबाले एकपटक बोलाए। भैँसीले टाउको फर्कायो। त्यो दृश्य देखेर रमेशको मनमा केही चिसो पस्यो। तर तत्कालै उसले आफूलाई सम्झायो,
केही ठूलो पाउन केही छोड्नैपर्छ।
केही दिनपछि रकम शेयर बजारमा गयो। र सुरुवातले रमेशलाई सही ठहरायो। उसले किनेका धेरै शेयर बढे। पोर्टफोलियोको अंक दिनदिनै ठूलो हुँदै गयो। एक हप्तामै यति नाफा देखियो, जति कमाउन बुबालाई महिनौँ लाग्थ्यो। रमेशले मोबाइल बुबालाई देखायो।
“हेर्नुस्।”
बुबाले रकम हेरे।
“यति नाफा?”
“अझै सुरुवात हो।”
बुबाको अनुहार उज्यालियो। रमेशभित्र आत्मविश्वास होइन, विजयको भावना जन्मियो। उसेलाई लाग्यो, उसले परिवारको आर्थिक नियति बदल्ने बाटो भेट्टाइसकेको छ। उसले बेचेन। किनकि फेसबुकमा लेखिएको थियो,
“असली बुल त सुरु नै भएको छैन।”
उसले थप किन्यो। किनकि युट्युबमा भनिएको थियो,
“यो बजार इतिहास बनाउने ठाउँमा छ।”
त्यसपछि एक दिन बजार घट्यो। रमेश हाँस्यो।
“करेक्सन हो।”
दोस्रो दिन पनि घट्यो। उसले केही शेयर थप्यो।
“डिपमा किन्ने मौका।”
तेस्रो दिन घट्यो। चौथो दिन पनि। एक सातापछि बजार अलि फर्कियो। रमेशले राहत पायो।
“मैले भनेको थिएँ।”
तर त्यो राहत धेरै दिन टिकेन। बजार फेरि घट्न थाल्यो। यसपटक बिस्तारै होइन। लगातार। नाफा कम भयो। त्यसपछि समाप्त भयो। त्यसपछि मूलधन घट्न थाल्यो। बुबाले एक साँझ सोधे,
“अहिले कति भएको छ?”
रमेशले मोबाइल नखोली भन्यो,
“बजार अलि घटेको छ। फर्किन्छ।”
केही समयपछि फेरि सोधे। रमेशले फेरि त्यही उत्तर दियो।
“फर्किन्छ।”
समय बित्दै जाँदा यही एउटा शब्द उसका लागि भरोसा, तर्क र प्रार्थना तीनै कुरा बन्यो।
फर्किन्छ।
कम्पनीको मूल्य आधा भयो।
“फर्किन्छ।”
बजार अझ तल गयो।
“फर्किन्छ।”
साथी सुमनले केही शेयर घाटामै बेच्यो। रमेशले बेचेन। उसेलाई लाग्यो, घाटामा बेच्नु भनेको हार स्वीकार गर्नु हो। मानिसले कहिलेकाहीँ पैसा जोगाउन नसकेको कारण लोभ मात्रै हुँदैन। आफू गलत भएको स्वीकार गर्न नसक्नु पनि ठूलो कारण हुन्छ। रमेशसँग त्यही भइरहेको थियो। राति मोबाइल खोलेर पुरानो उच्च मूल्य हेर्थ्यो।
“एकपटक यहाँसम्म आएको शेयर फेरि आउँछ।”
उसले आफूलाई सम्झाउँथ्यो। तर बजारलाई हाम्रो खरिद मूल्य थाहा हुँदैन। बजारलाई हाम्रो सपना थाहा हुँदैन। बजारले हामीलाई कति पैसा चाहिएको छ भनेर पनि सोध्दैन।
एक वर्ष पुग्न लाग्यो। घरको खर्च चलाउन गाह्रो हुन थाल्यो। दूधबाट आउने नियमित आम्दानी थिएन। बुबा अरूको खेतमा काम गर्न जान थाले। रमेशले त्यो थाहा पाए पनि केही बोल्न सकेन। एक बिहान ऊ बाहिर निस्किँदा बुबा काँधमा कोदालो राखेर छिमेकी गाउँतिर लाग्दै थिए।
“कहाँ जानुभएको?”
“पल्लो खेतमा काम छ रे।”
“किन जानुपर्यो?”
बुबाले सामान्य स्वरमा भने,
“घरमा बस्दा पैसा आउँदैन नि बाबु।”
रमेशको घाँटीमा केही अड्कियो। उसेलाई अचानक त्यो रात सम्झियो।
“अब तपाईंले काम गर्नुपर्दैन बुबा।”
उसले भनेको थियो। आज बुबा आफ्नै खेत होइन, अरूको खेतमा काम गर्न जाँदै थिए। त्यो दिन रमेशले बजार खोलेन। गोठतिर गयो। भित्र केही थिएन। पुराना डोरीहरू भित्तामा झुन्डिरहेका थिए। एउटा कुनामा सुकिसकेको घाँस थियो। छानोबाट आउने घामको सानो धर्को खाली ठाउँमा परेको थियो। रमेश त्यहीँ धेरैबेर बस्यो। उसलाई पहिलोपटक घाटा प्रतिशतमा देखिएन। त्यो खाली ठाउँमा देखियो। बुबाको समय। आमाको भरोसा। घरको नियमित आम्दानी। र आफ्नै हतार। सबै त्यहाँ थिए।
उसको मोबाइलमा भएको पोर्टफोलियो आधाभन्दा धेरै घटिसकेको थियो। केही दिनपछि बुबा गोठको अगाडि उभिएर बोले,
“एउटा पाडो सस्तोमा पाइन्छ रे।”
रमेशले टाउको उठायो।
“पाडो?”
“हो। अहिले सानो छ। पाल्दै गयौँ भने पछि काम लाग्छ।”
बुबाको स्वरमा कुनै कटाक्ष थिएन। न त “मैले भनेको थिएँ” भन्ने गर्व। न छोरामाथि दोष। त्यो सामान्य वाक्यले रमेशलाई सबैभन्दा बढी चोट दियो। किनकि क्षमा कहिलेकाहीँ आरोपभन्दा भारी हुन्छ। त्यस रात उसले पहिलोपटक आफ्नो सबै कारोबार खोल्यो।
कहाँ किनेको। किन किनेको। कसको कुरा सुनेको। के सोचेर नबेचेको। उसले आफूलाई एउटा कठोर प्रश्न सोध्यो।
यदि आज मसँग नगद हुन्थ्यो भने के म यही शेयर यही मूल्यमा किन्थेँ?
उत्तर धेरै ठाउँमा “होइन” थियो। त्यसपछि अर्को प्रश्न आयो।
त्यसो भए केवल घाटा स्वीकार गर्न नसकेर किन समातिरहेको छु?
भोलिपल्ट बजार खुल्यो। रमेशले केही शेयर बेच्यो। मन भारी भयो। अर्को दिन केही थप। अन्ततः धेरैजसो शेयर बेचेर बाहिरियो। अंक हेर्दा उसलाई विश्वास लागेन। छ वटा भैँसी बेचेर बजारमा गएको पैसा अब एउटा राम्रो भैँसी किन्नसमेत सोच्नुपर्ने अवस्थामा पुगेको थियो।
केही दिनपछि रमेश बुबासँग पाडो हेर्न गयो। एउटा सानो कालो पाडो थियो। शरीर दुब्लो। आँखा चम्किला। मानिस देख्दा डोरी तान्दै पर सर्न खोज्थ्यो। बुबाले उसको ढाड छोएर भने,
“ठीक छ। राम्ररी पाल्यो भने राम्रो हुन्छ।”
रमेशले मूल्य तिर्यो। घर फर्किँदा पाडो बीचबीचमा बाटोमै अडिन्थ्यो। बुबा अगाडि डोरी समात्थे। रमेश पछाडिबाट धकेल्थ्यो। उकालो बाटोमा एकपटक रमेश रोकियो। उसलाई केही वर्षअघिको दृश्य सम्झियो। यही बाटोबाट छ वटा भैँसी तल झरेका थिए। आज त्यही बाटोबाट एउटा पाडो माथि आइरहेको थियो। उसले बुबाको पिठ्युँतिर हेर्यो। बुबा पहिलेभन्दा अझ झुकेका थिए। रमेशको आँखामा पानी आयो। तर उसले पुछेन। बुबाले पछाडि फर्केर भने,
“थाकिस्?”
“छैन।”
“अलि पर पुगेपछि बाटो सजिलो छ।”
रमेश केही क्षण मौन भयो। त्यसपछि मनमनै सोच्यो,
बुबाले पाडोलाई भनेका हुन् कि मलाई, थाहा भएन।
घर पुगेर पाडोलाई पुरानै गोठमा बाँधियो। धेरै समयपछि त्यहाँ फेरि कुनै जीवको सास सुनियो। रमेश केहीबेर गोठको ढोकामा उभिरह्यो। त्यसपछि भित्र गयो। पाडोको अगाडि घाँस राख्यो। अर्को बिहान बुबा हँसिया बोकेर निस्कँदै गर्दा रमेशले भन्यो,
“म पनि आउँछु।”
बुबाले आश्चर्यले हेरे।
“घाँस काट्न?”
“हो।”
“काठमाडौंको पढाइले हँसिया चलाउन बिर्सायो कि?”
रमेश मुस्कुरायो।
“सिकाइदिनुस् फेरि।”
दुवै जना पाखातिर लागे। सूर्य पहाडको डिलबाट माथि आउँदै थियो। रमेशले बाटोमा बुबाका पाइला हेर्यो। बाल्यकालमा ऊ तिनै पाइला पछ्याउँथ्यो। पछि आफू ठूलो भएको भ्रममा ती पाइला छोडेर धेरै टाढा गएको थियो।
आज फेरि पछ्याइरहेको थियो। तर यसपटक ऊ बच्चा भएर होइन, केही गुमाएर फर्किएको मानिस भएर हिँडिरहेको थियो। शेयर बजारप्रति उसलाई घृणा थिएन। उसले बजारलाई दोष पनि दिएन। किनकि बजारले उसलाई भैँसी बेच्न भनेको थिएन। बजारले सबै पैसा एउटै समयमा हाल्न भनेको थिएन। बजारले नाफालाई आफ्नो दक्षता ठान्न भनेको थिएन। ती निर्णय उसकै थिए।
त्यो दिन उसले एउटा कुरा स्पष्ट रूपमा बुझ्यो। लगानीले जीवन बदल्न सक्छ, तर जीवन बदल्ने हतारमा आफ्नो आधार नै दाउमा राखियो भने लगानी र जुवाबीचको दूरी धेरै सानो हुन्छ। केही महिनापछि रमेशले फेरि काम खोज्न थाल्यो। घरको खेतीमा पनि सघायो। शेयर बजारलाई पूर्ण रूपमा छोडेन। तर यसपटक उसले बजारमा पैसा हाल्नुअघि एउटा नियम बनायो।
घर चलाउने पैसा होइन। ऋणको पैसा होइन। जीवनको आधार बेचेर आएको पैसा होइन। र छिटो धनी हुने आशामा हालिएको पैसा त झन् होइन। सानो रकमबाट फेरि सुरु गर्यो। यसपटक उसको लक्ष्य अर्को महिनामै दोब्बर बनाउने थिएन। बजारलाई बुझ्ने थियो। आफ्नो जोखिम बुझ्ने थियो। र सबैभन्दा बढी, आफूलाई बुझ्ने थियो।
दुई वर्षपछि पाडो ठूलो भइसकेको थियो। एक साँझ रमेश गोठमा घाँस हालिरहेको थियो। बुबा बाहिर बसेर चिया खाइरहेका थिए। बुबाले हाँस्दै भने,
“तेरो शेयर बजारको पाडो त राम्रै हुर्कियो है।”
रमेश पनि हाँस्यो।
“यो चाहिँ चार्ट हेरेर बढ्दैन बुबा।”
“अनि के हेरेर बढ्छ?”
रमेशले घाँसको भारी खोल्दै भन्यो,
“समय दिएर।”
बुबाले केही बोलेनन्। तर रमेश आफैँ आफ्नो उत्तरमा रोकियो। सायद त्यही कुरा पैसामा पनि लागू हुन्थ्यो। जीवनमा पनि। र सफलतामा पनि। उसले धेरै ढिलो बुझ्यो कि छिटो धनी हुने चाहनाले उसलाई गरीब बनाएको थियो, तर त्यो गल्तीले उसलाई एउटा महत्वपूर्ण कुरा सिकाएको थियो।
सम्पत्ति केवल खातामा देखिने रकम होइन। नियमित आम्दानी सम्पत्ति हो। सीप सम्पत्ति हो। समय सम्पत्ति हो। परिवारको विश्वास सम्पत्ति हो। र वर्षौँ लगाएर बनाएको आधारलाई जोगाउन सक्ने विवेक सबैभन्दा ठूलो सम्पत्ति हो।
गाउँमा रमेशको कथा अझै सुनिन्थ्यो। कसैले हाँस्दै भन्थ्यो,
“छ वटा भैँसी बेचेर शेयरमा गएको, अन्तिममा एउटा पाडो लिएर फर्कियो।”
पहिले यो वाक्य सुन्दा रमेशलाई लाज लाग्थ्यो। पछि उसले त्यसलाई स्वीकार गर्न सिक्यो। किनकि केही कथा सफलताको प्रमाणपत्र भएर बाँच्दैनन्। केही कथा चेतावनी भएर बाँच्नु पनि आवश्यक हुन्छ। रमेश साँझ कहिलेकाहीँ गोठको छेउमा बसेर बुबालाई हेर्थ्यो। उसले सोचेको जस्तो उनीहरू रातारात धनी भएनन्।
घर पनि एकैचोटि ठूलो बनेन। जिन्दगीको दुःख एकदिनमै समाप्त भएन। तर रमेश पहिलेभन्दा फरक थियो। पहिले ऊ छोटो बाटो खोज्थ्यो। अब सही बाटो खोज्थ्यो। पहिले उसलाई पैसा छिटो बढ्नु सफलता लाग्थ्यो। अब उसलाई एउटा गल्ती दोहोरिन नदिन सक्नु पनि सफलता लाग्थ्यो।
पहिले उसले बुबाको पसिनाबाट भाग्ने सपना देखेको थियो। अब उसले त्यो पसिनाको मूल्य बुझ्न थालेको थियो। र सायद यही उसको सबैभन्दा ठूलो नाफा थियो। बजारबाट कमाएको होइन। बजारमा गुमाएर कमाएको नाफा।
किनकि छ वटा भैँसी बेचेर शेयर बजार छिरेको रमेश एउटा पाडो लिएर कृषिमा त फर्कियो, तर ऊ फर्किँदा गएको बेलाको रमेश थिएन। उसले पैसा गुमाएको थियो। समय गुमाएको थियो। आफ्नो आत्मविश्वासको ठूलो हिस्सा गुमाएको थियो। तर एउटा कुरा लिएर फर्किएको थियो, जुन उसँग पहिले थिएन।
विवेक।
र जीवनमा कहिलेकाहीँ सबैभन्दा महँगो शिक्षा त्यही हुन्छ, जसको शुल्क हामी पैसा तिरेर होइन, आफ्नै गल्ती भोगेर बुझ्छौँ।














