×
Lagani
Lagani Shiksha gif
दुईपटक मेयरको कुर्सी खाली, दुवैपटक भाग्यमानी परनियालाई जिम्मेवारी



सञ्जय मिश्रा

रौतहट, ३० साउन ।

Lagani Shiksha gif
sharehubapk दुईपटक मेयरको कुर्सी खाली, दुवैपटक भाग्यमानी परनियालाई जिम्मेवारी

रौतहटको देवाही गोनाही नगरपालिकामा एउटा रोचक राजनीतिक संयोग देखिएको छ। २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा लगातार उपप्रमुखमा निर्वाचित परनिया देवी पटेलले दुवै कार्यकालमा नगरप्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी छन्।

 

दुवैपटक कारण भने फरक छ—पहिलो कार्यकालमा नगरप्रमुख निलम्बनमा परेपछि र दोस्रो कार्यकालमा नगरप्रमुख दल परिवर्तनका कारण पदमुक्त भएपछि पटेल कार्यवाहक नगरप्रमुख बनेकी हुन्।

 

स्थानीय तहमा उपप्रमुखको भूमिका कतिपय अवस्थामा प्रमुखको छायामा सीमित हुने गरेको चर्चा भइरहँदा देवाही गोनाहीकी परनिया देवीको राजनीतिक यात्रा भने त्यसको ठीक विपरीत देखिन्छ। निर्वाचित उपप्रमुख भएर काम गरिरहेकी उनी दुवै कार्यकालमा नगरको कार्यकारी नेतृत्व सम्हाल्ने अवस्थामा पुगेकी छन्।

 

पहिलो कार्यकालः अख्तियारको कारबाहीपछि मेयरको जिम्मेवारी

२०७४ सालको स्थानीय तह निर्वाचनमा परनिया देवी पटेल नेकपा माओवादी केन्द्रबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन्। त्यतिबेला नगरप्रमुखमा धर्मेन्द्र पटेल निर्वाचित भएका थिए।

 

तर २०७८ साल फागुन १५ गते नगरप्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा पक्राउ गरेपछि नगरपालिकाको नेतृत्व संकटमा पर्यो। उपभोक्तामार्फत निर्माण भएको भवनको अन्तिम भुक्तानी दिने क्रममा घुस मागेको आरोपमा उनलाई नगद तथा चेकसहित पक्राउ गरिएको अख्तियारले जनाएको थियो।

 

विशेष अदालतले पछि उनलाई धरौटीमा रिहा गरे पनि मुद्दाको अन्तिम किनारा नलागेका कारण उनी निलम्बनमै रहे। त्यसपछि नगरपालिकाको नियमित कार्यसम्पादन अगाडि बढाउने जिम्मेवारी तत्कालीन उपप्रमुख परनिया देवी पटेलको काँधमा आयो।२०७९ को स्थानीय तह निर्वाचनसम्म उनले कार्यवाहक नगरप्रमुखका रूपमा नगरपालिकाको नेतृत्व सम्हालिन्।

 

दोस्रो कार्यकालः मेयर दल बदलेपछि फेरि परनियाकै काँधमा जिम्मेवारी

२०७९ सालको स्थानीय तह निर्वाचनमा पनि परनिया देवी पटेल उपप्रमुखमै निर्वाचित भइन्। यसपटक भने उनले नेकपा एमालेको टिकटबाट चुनाव जितिन्। नगरप्रमुखमा एमालेकै उम्मेदवार प्रेमलाल साह कानु निर्वाचित भएका थिए। तर कार्यकालको बीचमै साह एमाले परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा आबद्ध भए।

 

दल परिवर्तन गरेपछि एमालेले निर्वाचन आयोगलाई त्यसबारे जानकारी गराएको थियो। आयोगले राजनीतिक दलसम्बन्धी प्रचलित कानुनअनुसार नगरप्रमुख प्रेमलाल साह कानु र वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश प्रसाद कुर्मीको पद रिक्त भएको सूचना प्रकाशित गर्‍यो।

 

२०८३ साल साउन १५ गते आयोगले उनीहरू पदमुक्त भएको औपचारिक जानकारी गराएपछि देवाही गोनाहीको नगरप्रमुख पद पुनः खाली भयो। त्यसपछि दोस्रो कार्यकालमा पनि उपप्रमुख परनिया देवी पटेलकै काँधमा कार्यवाहक नगरप्रमुखको जिम्मेवारी आइपुगेको छ।

 

‘भाग्यमानी’ कि असामान्य राजनीतिक संयोग 

 

दुई फरक निर्वाचन, दुई फरक कार्यकाल र दुवैपटक नगरप्रमुखको पद रिक्त हुँदा उपप्रमुखकै हातमा नगरको नेतृत्व पुग्नु सामान्य राजनीतिक घटना भने होइन।

पहिलोपटक नगरप्रमुख अख्तियारको कारबाहीपछि निलम्बनमा परे। दोस्रोपटक नगरप्रमुख दल परिवर्तनका कारण पदमुक्त भए। दुवै परिस्थितिमा उपप्रमुख पटेल कार्यवाहक नगरप्रमुख बन्न पुगिन्। त्यसैले देवाही गोनाहीमा अहिले उनको राजनीतिक यात्रालाई लिएर एउटा प्रश्न उठेको छ—परनिया देवी साँच्चिकै ‘भाग्यमानी’ हुन् कि यो केवल असामान्य राजनीतिक संयोग ?

 

जे भए पनि दुई कार्यकालमा दुईपटक नगरको नेतृत्व सम्हाल्ने अवसर पाउने उपप्रमुखका रूपमा पटेलको राजनीतिक यात्रा भने देवाही गोनाहीको स्थानीय राजनीतिमा रोचक उदाहरण बनेको छ।

 

सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता

शुक्रबार कार्यवाहक नगरप्रमुखको पदभार ग्रहण गर्दै पटेलले संविधानले सुनिश्चित गरेको स्थानीय स्वायत्तता, जनउत्तरदायी शासन, समावेशिता र भेदभावरहित सेवा प्रवाहलाई आधार बनाएर नगरपालिकाको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

उनले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा कुनै राजनीतिक दल वा समूहप्रति भेदभाव नगरी सबैको साथ र सहयोगमा काम गर्ने बताइन्। नगरपालिकाको विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले नगरवासीको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्।

 

पदभार ग्रहण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पवनकुमार केसरी, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराई, सञ्चारकर्मी तथा स्थानीय भद्रभलादमीको उपस्थिति थियो।

 

दुईपटक उपप्रमुखमा निर्वाचित, दुईपटक नै मेयरको जिम्मेवारी- देवाही गोनाहीको राजनीतिमा परनिया देवी पटेलको यो संयोग अहिले चर्चा र चासोको विषय बनेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस