सरकारले हालै सञ्चालनमा ल्याएको प्रोभिजनल राष्ट्रिय परिचयपत्र (ई-एनआईडी) डाउनलोड सेवा अस्थायी रूपमा बन्द गरेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सेवा सञ्चालनका क्रममा देखिएका प्राविधिक तथा सुरक्षा सम्बन्धी विषयहरूको समीक्षा गर्न डाउनलोड सुविधा बन्द गरिएको जनाएको छ। विभागले नागरिकका व्यक्तिगत विवरणको सुरक्षा र गोपनीयतालाई थप मजबुत बनाउन प्रणालीमा आवश्यक सुधार तथा परिमार्जनको काम भइरहेको बताएको छ।
गत साता सिटिजन पोर्टलमार्फत उपलब्ध गराइएको उक्त सेवाबाट नागरिकले आफ्नो प्रोभिजनल राष्ट्रिय परिचयपत्र अनलाइनमार्फत डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको थियो। तर सेवा सञ्चालनपछि प्रमाणीकरण प्रक्रिया र डेटा सुरक्षासम्बन्धी प्रश्न उठेपछि विभागले प्रणाली पुनरावलोकन गर्ने निर्णय गरेको हो।
विभागका अनुसार आगामी दिनमा थप सुरक्षित प्रमाणीकरण प्रणाली लागू गरी सेवा पुनः सञ्चालनमा ल्याइनेछ। यसका लागि बहु-स्तरीय प्रमाणीकरण (मल्टिफ्याक्टर अथेन्टिकेसन) लगायतका सुरक्षा उपायहरू समावेश गर्ने तयारी भइरहेको जनाइएको छ।
सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सार्वजनिक सेवासँग आबद्ध गर्दै लगेका कारण यसको डिजिटल पहुँचलाई सुरक्षित र भरपर्दो बनाउने दिशामा काम भइरहेको विभागको भनाइ छ। सेवा पुनः सञ्चालनबारे आवश्यक जानकारी विभागले आधिकारिक माध्यममार्फत सार्वजनिक गर्ने जनाएको छ।
अपडेटः ओटीपी प्रमाणीकरणसहित सेवा पुनः सञ्चालन
यसैबीच, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रोभिजनल राष्ट्रिय परिचयपत्र (ई-एनआईडी) डाउनलोड सेवामा अतिरिक्त सुरक्षा व्यवस्था थप्दै पुनः सञ्चालनमा ल्याएको छ। सेवामा पर्याप्त प्रमाणीकरण व्यवस्था नभएको भन्दै उठेको चासोपछि विभागले एसएमएसमार्फत प्राप्त हुने वन टाइम पासवर्ड (ओटीपी) प्रमाणीकरण अनिवार्य गरेको हो।

यसअघि नाम, जन्ममिति र नागरिकता जारी मितिका आधारमा ई-एनआईडी डाउनलोड गर्न सकिने व्यवस्था थियो। सुरक्षा तथा डेटा गोपनीयतासम्बन्धी प्रश्न उठेपछि विभागले केही समयका लागि सेवा स्थगित गरेको थियो। अहिले भने प्रयोगकर्ताको मोबाइल नम्बरमा पठाइने ओटीपी प्रमाणीकरण पूरा गरेपछि मात्र ई-एनआईडी डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको छ।
विभागका अनुसार राष्ट्रिय परिचयपत्र दर्ता गर्दा प्रयोग गरिएको मोबाइल नम्बर सक्रिय रहेको अवस्थामा मात्रै अनलाइनमार्फत ई-एनआईडी प्राप्त गर्न सकिनेछ। सम्बन्धित मोबाइल नम्बर उपलब्ध नभएका सेवाग्राहीले भने नजिकको राष्ट्रिय परिचयपत्र दर्ता केन्द्र वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सुरक्षा प्रणाली थप सुदृढ बनाउने क्रममा ओटीपी आधारित प्रमाणीकरण लागू गरिएको जनाएको छ। विभागले गत बुधबारदेखि प्रोभिजनल राष्ट्रिय परिचयपत्र डाउनलोड सेवा सञ्चालनमा ल्याएको थियो।
















