राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको दोस्रो दिन आइतबार विभिन्न प्रतिवेदनमाथि प्रस्तुति, छलफल र पारित गर्ने कार्यसूची तय गरिएको छ।
बिहान ७ बजेदेखि प्रतिनिधि तथा सहभागीहरूका लागि नास्ताको व्यवस्था गरिएको छ। त्यसपछि बिहान ८:३० बजे पार्टी सभापतिले दोस्रो सत्रको औपचारिक उद्घाटन गर्नेछन् कार्यक्रमअनुसार बिहान ८:३० देखि ८:५० बजेसम्म अनुशासन आयोगका संयोजक रमाकान्त सिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् र त्यसमाथि छलफल हुनेछ। लगत्तै बिहान ९:०० देखि ९:३० बजेसम्म कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। आर्थिक प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि ३० मिनेटको चिया विश्राम राखिएको छ।
चिया विश्रामपछि बिहान १०:०० देखि १०:४५ बजेसम्म पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि १०:४५ देखि ११:४५ बजेसम्म पार्टी सहमहामन्त्रीको प्रस्तुतीमा विधानमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।
महाधिवेशनको दोस्रो दिनको मुख्य आकर्षणका रूपमा सभापतिद्वारा राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम पनि राखिएको छ। बिहान ११:४५ देखि दिउँसो १२:४५ बजेसम्म पार्टी सभापतिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरी पारित गर्ने प्रक्रिया अघि बढाइनेछ। त्यसपछि १२:४५ देखि १ बजेसम्म सभापतिले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने तथा आयोजक समितिले हालसम्म निर्वाह गरिरहेको सम्पूर्ण जिम्मेवारी नयाँ समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।
दिउँसो १ बजेदेखि २:३० बजेसम्म भोजन अवकाश रहनेछ। त्यसपछि महाधिवेशनको निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र निर्वाचन तालिका निर्वाचन आयोगले सार्वजनिक गर्ने जनाएको छ। आयोगका अनुसार तालिका प्रकाशन भएसँगै उम्मेदवारी दर्ता, दाबी–विरोध, नामावली प्रकाशन तथा मतदानलगायतका निर्वाचन सम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन हुनेछन्।
रास्वपाले दोस्रो दिनको कार्यसूचीमार्फत पार्टीको अनुशासन, आर्थिक अवस्था, संगठनात्मक संरचना, विधान तथा आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण दस्तावेजहरू महाधिवेशनबाट अनुमोदन गराउने तयारी गरेको छ।
















