काठमाडौं, २० जेठ । सोलुखुम्बुको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बाँडफाँडमा अधिकांश आवेदकले मागअनुसार सेयर पाएका छन् भने गोलाप्रथामार्फत केही लगानीकर्ताले थप १० कित्तासम्म सेयर प्राप्त गरेका छन्।
बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले बुधबार बिहान आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरिएको ८ लाख ८० हजार कित्ता आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दालाई अति प्रभावित र प्रभावित वर्गमा विभाजन गरी सेयर वितरण गरेको थियो।
अति प्रभावित क्षेत्रअन्तर्गत १५० कित्तासम्म आवेदन दिएका सबै लगानीकर्ताले मागबमोजिम सेयर प्राप्त गरेका छन्। १५० कित्ताभन्दा बढी आवेदन दिनेहरूलाई पनि १५० कित्ताकै दरले सेयर वितरण गरिएको छ। बाँकी सेयर गोलाप्रथाबाट वितरण गर्दा २९२ जना आवेदकले थप १० कित्ता पाएका छन्, जसका कारण यस वर्गका केही लगानीकर्ताले अधिकतम १६० कित्तासम्म सेयर हात पारेका छन्।
यस्तै, प्रभावित वर्गतर्फ ६० कित्तासम्म आवेदन दिनेले मागअनुसार सेयर पाएका छन्। ६० कित्ताभन्दा बढी आवेदन दिनेहरूलाई पनि ६० कित्ताकै दरले बाँडफाँड गरिएको छ। त्यसपछि गरिएको गोलाप्रथामा १ हजार ७७७ जना आवेदकले थप १० कित्ता प्राप्त गरेकाले यस समूहमा अधिकतम ७० कित्तासम्म सेयर परेको छ।
स्थानीय बासिन्दाको सेयर बाँडफाँड प्रक्रिया सम्पन्न भएसँगै कम्पनीले अब सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी अघि बढाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि गत वैशाख १७ गतेदेखि ३१ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो।















