कावेली इनर्जी लिमिटेडले सर्वसाधारणमा सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ। यसका लागि कम्पनीले आफ्नो १५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३ गते थापाथलीस्थित ट्रेड टावरको दोश्रो तल्लामा दिउँसो १ बजेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो।
साधारणसभामा पेश गरिने विशेष प्रस्तावअनुसार, कम्पनीले निर्माणाधीन कावेली–ए जलविद्युत आयोजनाका लागि आवश्यक पुँजी जुटाउनका निमित्त आईपीओ जारी गर्नेछ। यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि सभाबाटै टुंगो लगाइनेछ।
कम्पनीको यो कदमले कावेली–ए जलविद्युत आयोजनाको निर्माणलाई गति दिनुका साथै लगानीकर्ताहरुलाई पनि नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।










