काठमाडौं उपत्यकामा खपत हुने चामलमा विभिन्न ११ प्रकारका विषादीका अवशेष फेला परेका छन्। हालै सार्वजनिक गरिएको एक अध्ययनले उक्त कुराको खुलासा गरेको हो। अध्ययनका क्रममा परीक्षण गरिएका नमुनामा ढुसीनाशक, कीटनाशक, मुसा मार्ने विषलगायत कतिपय प्रतिबन्धित विषादीको समेत अवशेष पाइएको छ।
भक्तपुर र ललितपुरमा बिक्री हुने चामलको तुलनामा काठमाडौंका पसलमा पाइने चामलमा विषादीको मात्रा बढी पाइएको छ। यसैगरी, गैरबासमती चामलको तुलनामा बासमती चामलमा विषादीको मात्रा दोब्बर पाइएको छ।
‘प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपाल’ र भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ ले संयुक्त रूपमा गरेको यस अनुसन्धानले ‘नेपालको धानमा विषादीको प्रयोग र किसानको सुरक्षा व्यवहार : योजनाबद्ध व्यवहारको सिद्धान्त र सम्भावित स्वास्थ्य जोखिम’ शीर्षकमा प्रतिवेदन सार्वजनिक गरेको हो।
उक्त प्रतिवेदन अनुसार, काठमाडौंका तीन जिल्लामा खपत हुने चामलमा विषादीको घनत्व प्रति केजी ५.०९ माइक्रो ग्रामदेखि ३१२.५४ माइक्रो ग्रामसम्म पाइएको छ। यो प्रतिवेदन ‘स्प्रिन्जर नेचर’ को प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल ‘वातावरण, विकास र दिगोपन’ मा प्रकाशित भएको छ।
अध्ययनका लागि संकलित नमुनामध्ये ८३ प्रतिशत चामल विषादीयुक्त पाइएको छ। झनै चिन्ताजनक कुरा त के छ भने, ८० प्रतिशत नमुनामा दुई वा सोभन्दा बढी प्रकारका विषादीका अवशेष भेटिएका छन्।
अनुसन्धानकर्ता उत्कल सापकोटाका अनुसार, चामलमा भेटिएका ११ थरी विषादीमध्ये ट्राइसाइक्लाजोल, थाइमिथक्जाम र टेबुकोनाजोलको मात्रा युरोपेली युनियनले तोकेको अधिकतम सीमाभन्दा निकै बढी छ। उहाँले यी विषादी मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुने बताउनुभयो।
बासमती चामलमा विषादीको मात्रा बढी पाइनुको कारणबारे अध्ययनले औंल्याएको छ। बासमती चामल महँगोमा बिक्री हुने र किराहरूसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले किसानहरूले बढी मात्रामा विषादी प्रयोग गर्ने गरेको अनुसन्धानको दाबी छ। सापकोटाका अनुसार, उच्च मूल्यको बाली भएकाले किसानहरूले आफ्नो लगानी सुरक्षित गर्न र बढी मुनाफा कमाउनका लागि सिफारिस गरिएको मात्राभन्दा बढी र पटक–पटक विषादी छर्कने गर्छन्, जसले गर्दा यसमा अवशेषको मात्रा उच्च देखिन्छ।
अध्ययनले चामलमा भेटिएका विषादीको दीर्घकालीन प्रयोग मानव स्वास्थ्यका लागि घातक हुन सक्ने चेतावनी दिएको छ। यस विषादीयुक्त चामलको निरन्तर सेवनले मानव शरीरमा विषादीको मात्रा थुप्रिँदै जाने र यसले कालान्तरमा पेट, प्रोस्टेट र प्रजनन स्वास्थ्यसँग सम्बन्धित क्यान्सरजस्ता घातक रोग निम्त्याउन सक्ने अध्ययनले देखाएको छ।
सरकारले प्रतिबन्ध लगाएको क्लोरपाइरिफस, अल्फा–साइपरमेथ्रिन र प्रोफेनोफसजस्ता विषादी समेत चामलमा भेटिएको छ। बजार अनुगमनमा कमजोरी हुँदा यस्ता विषादीको प्रयोग नरोकिएको अध्ययनको निष्कर्ष छ। नियामक निकायको कमजोरीका कारण प्रतिबन्धित रसायन अझै पनि किसान र थोक बिक्रेताहरूसम्म पुगिरहेको छ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीले भने धानमा हालिएको विषादीको अवशेष चामल बनेर उपभोक्तासम्म आइपुग्दा लामो समयसम्म नरहनुपर्ने बताए। यद्यपि, उनले प्रतिवेदन अध्ययनपछि मात्र विस्तृतमा भन्न सक्ने बताए।
नेपालमा विषादी आयातको कानुनी प्रक्रिया रहेको र पञ्जीकृत विषादी मात्र आयात गर्न पाइने अधिकारीले दाबी गरे। तरकारीको तुलनामा चामलमा विषादीको अवशेष देखिनु अलि फरक विषय भएको उनको बुझाइ छ, किनकि तरकारी सिधै बजारमा पुग्ने भएकाले अवशेष बढी देखिन्छ, तर धानमा किरा नियन्त्रणपछि प्रशोधन हुने हुनाले अवशेष कम रहनुपर्ने हो।
यस अध्ययनमा नेपालका दुई, भारतका दुई र एक जापानी वैज्ञानिक संलग्न थिए। अध्ययनले नेपालमा विषादी परीक्षणका लागि अत्याधुनिक प्रविधिको अभाव रहेको औंल्याएको छ। हाल नेपालमा प्रयोग भइरहेको आरबीपीआर प्रविधिले विषादी छ कि छैन भन्ने मात्र देखाउँछ, कुन विषादी कति मात्रामा छ भन्ने प्रमाणित गर्न सक्दैन। यसका लागि एलसी–एमएस/एमएस प्रविधि आवश्यक रहेको र यो नेपालमा व्यवस्थित रूपमा उपलब्ध नरहेको वैज्ञानिकहरूले बताएका छन्।
सर्वेक्षणमा सहभागी ६५ प्रतिशतभन्दा बढी विक्रेताले प्रतिबन्धित विषादी सिफारिस गर्ने गरेको र विषादीको प्रत्यक्ष सम्पर्कमा रहने ८० प्रतिशतभन्दा बढी किसान र बिक्रेताले आफ्नो स्वास्थ्य जोगाउन आवश्यक आधारभूत उपकरण प्रयोग नगरेको पाइएको छ। प्रायः विक्रेताहरूलाई विषादीको गम्भीर असरबारे पर्याप्त ज्ञान छैन।
विषादीको प्रत्यक्ष सम्पर्कले किसानमा अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ। छाला, आँखा र कलेजोसँग सम्बन्धित रोग तथा स्नायु प्रणाली वा विकाससम्बन्धी समस्या यसका उदाहरण हुन्। विषादीको अधिकतम अवशेष सीमा नाघेकाले र असुरक्षित प्रयोगका कारण क्यान्सर र मिर्गौला फेल हुनेजस्ता गम्भीर दीर्घकालीन समस्याको जोखिम रहेको अध्ययनमा भनिएको छ।
भविष्यमा खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारले चामलजस्ता मुख्य खाद्यान्नमा विषादीको आफ्नै मापदण्ड तोक्नुपर्ने र प्रतिबन्धित विषादीको अवैध प्रयोग रोक्न कानुनी संयन्त्रलाई बलियो बनाउनुपर्ने सुझाव अध्ययनले दिएको छ। साथै, हरेक प्रदेशमा अत्याधुनिक प्रयोगशाला स्थापना गरी नियमित अनुगमन गर्न, रासायनिक विषादीको सट्टा जैविक विषादीलाई प्रवर्द्धन गर्न र किसानहरूको लगानी सुरक्षित गर्न बाली बिमा कार्यक्रम लागू गर्नुपर्ने वैज्ञानिकहरूको सुझाव छ।











